व्यक्तित्वआइतवार, श्रावण १, २०७४

निष्ठाका पर्याय रामहरि जोशी

सन्त गाहा मगर

प्रायः सुतीको कमिज–सुरुवाल, कालो चश्मा र खैरो ज्वारीकोटमा सजिएर हिंड्थे, रामहरि जोशी । महात्मा गान्धीका अनुयायी उनी ‘अहिंसा र शान्ति’ का पक्षपाती थिए । विश्लेषक पुरञ्जन आचार्यको भनाइमा, नेपाली कांग्रेसका संस्थापक जोशीमा सन्त नेता कृष्णप्रसाद भट्टराई जस्तै ‘त्याग र सादगी’ थियो । ३० असारमा पशुपति आर्यघाटमा उनको अन्तिम श्रद्धाञ्जलीमा देखिएको लामो लाम जोशीको निष्ठाप्रतिकै श्रद्धा थियो ।

ललितपुरको बखुम्बहाल पुख्र्यौली भएका जोशीको जन्म ४ जनवरी १९२८ मा सर्लाहीको सदरमुकाम मलंगवामा भएको थियो । उनका बाजे सत्यमान जोशी राणाशासनको मध्यकालताका ललितपुरबाट सर्लाही बसाइँ सरेका थिए । बाबु तीर्थलाल जोशीले भारतबाट झिकाएका शिक्षकमार्फत घरबाटै उनको प्रारम्भिक शिक्षा शुरु भएको थियो । विज्ञान र अंग्रेजी विषय पढ्न भने उनी करीब ३० किलोमिटर टाढा भारतको सीतामढीको विद्यालय भर्ना भए । त्यहींबाट १९४२ मा मेट्रिक उत्तीर्ण गरेका जोशीले बनारस हिन्दू विश्वविद्यालयबाट १९४५ मा आईएस्सी र कलकत्ता विश्वविद्यालयबाट १९४७ मा बीएस्सी पास गरे ।

जोशी कलकत्तामा पढिरहेकै बेला २५–२६ जनवरी १९४७ (१२–१३ माघ २००३) मा भवानीपुरस्थित खाल्सा हाईस्कूलमा नेपाली राष्ट्रिय कांग्रेसको प्रथम महाधिवेशन सम्पन्न भएको थियो । प्रथम महाधिवेशनबाटै कांग्रेस राजनीतिमा जोडिएका उनी राणाशासनको विरोधमा उत्रेपछि २००४ सालमा ललितपुरस्थित नक्खु जेलमा थुनिए । २००७ सालको जनक्रान्तिमा अग्रणी भूमिका खेलेका जोशी राणाशासनको अन्त्यपछि पनि थुनिने क्रम रोकिएन । पञ्चायत विरोधी आन्दोलनमा लागेबापत २०२९ सालमा केन्द्रीय कारागार काठमाडौं र २०४६ मा जिल्ला कारागार, सर्लाहीमा जेल जीवन बिताए । २०४८ र २०५१ सालमा सर्लाही–३ बाट सांसद् निर्वाचित जोशी गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारमा पर्यटन तथा शिक्षा मन्त्रीसमेत बनेका थिए ।

सांसद् तथा वरिष्ठ अधिवक्ता राधेश्याम अधिकारी युवाकालमै कांग्रेस राजनीतिमा लागेका जोशी लोकतान्त्रिक आन्दोलन र निष्ठाको राजनीतिका पर्याय बन्न सफल रहेको बताउँछन् । त्यसो त राजनीतिक मात्रै होइन जोशीको सामाजिक तथा साहित्यिक व्यक्तित्व पनि उत्तिकै सशक्त थियो ।

बहुआयामिक
१९५७ मा कलकत्तास्थित बङ्गवासी कलेजबाट अंग्रेजी साहित्यमा एमए गरेका उनी २०१० सालमा सर्लाहीको पब्लिक हाईस्कूलमा शिक्षक भए र त्यही स्कूलमा ३७ वर्षसम्म प्रधानाध्यापकको रुपमा सेवा गरे । सांसद् अधिकारी जागीरका लागि भन्दा पनि सेवाभावले उनी शिक्षण पेशामा लागेको बताउँछन् । कांग्रेस राजनीतिमा सक्रिय भइसकेका उनले काठमाडौंमा होइन सर्लाहीमै शिक्षाको ज्योति बाल्न चाहेको बुझ्न गाह्रो छैन । उनकै सक्रियतामा २०२७ मा सर्लाहीमा नेपाल रेडक्रस सोसाइटीको स्थापना भएको थियो ।

बनारसमा रहँदा जोशी जनता र हिमालय सन्देश साप्ताहिक पत्रिकाको सह–सम्पादक, काठमाडौंबाट प्रकाशित हुने राष्ट्र पुकार पत्रिकाको संचालक समिति, आजीवन सदस्य र नेपाल पुकार को सम्पादकको रुपमा समेत काम गरे । कविता, कथा, निबन्ध, नाटक अनुवाद आदिमा पनि उनको कलम चलेको देखिन्छ । २००० सालमा पटनाबाट प्रकाशित किसोर पत्रिकामा छापिएको ‘जागरण गान’ जोशीको पहिलो कविता हो । उनले २०१४ सालमा झंकार र २०१५ सालमा नयाँ सवेरा कविता संग्रह प्रकाशित गरे । रामवृक्ष बेनीपुरीको नाटक नेत्रदान हिन्दीबाट नेपालीमा अनुवाद गरेका जोशीको नेपालके अमर सहिद (२०१५), बाल विज्ञान परिचय भाग १–४ (२०१९), सामान्य विज्ञान परिचय भाग ६ र ८ (२०२४), नेपालको नोभेम्बर क्रान्ति (२०४८), २०४६ सालको आन्दोलनः विश्वको आँखीझ्यालबाट (२०५३), अतीतका केही सम्झनाहरू (२०५६), आत्मकथा तथा नेपाली कांग्रेस (२०६७) र अँध्यारोबाट उज्यालोतिर (२०७१) पुस्तक प्रकाशित छन् ।

सर्लाही, महोत्तरी, सिरहालगायतका क्षेत्रमा कांग्रेसको संगठन बनाउनमा जोशीको महत्वपूर्ण योगदान रहेको विश्लेषक आचार्य बताउँछन् । उनका अनुसार, २०४६ सालपछि कांग्रेस निष्ठाको राजनीतिबाट उपभोक्तावादी बन्दै गएपछि जोशी प्रभावहीन देखिन थालेका थिए ।

कांग्रेस सुधार अभियानअन्तर्गत जोशीले पार्टीको नवौं (वैशाख २०५३) र दशौं राष्ट्रिय महाधिवेशन (माघ २०५७) मा गिरिजाप्रसाद कोइरालाविरुद्ध सभापतिमा उम्मेदवारी दिएका थिए । अविवाहित जोशीको त्यो उम्मेदवारी पदभन्दा पनि पार्टीलाई निष्ठाको राजनीतितर्फ डो¥याउने प्रयास थियो । “अस्तित्वमा रहुञ्जेलसम्म जोशीले आफूलाई समाजवादी चिन्तन र गान्धीवादी निष्ठामा कायम राख्न सके, यस्तो आत्मबल जोकोहीमा पाइँदैन”, आचार्य भन्छन् ।

प्रतिकृया दिनुहोस