एक महिनादेखि दुई गाउँ अन्धकारमा
विगत एक महिनादेखि पर्वतका दुई गाउँ अन्धकार बनेका छन् ।
हावाहुरीसँगै पोल ढलेका कारण विद्युत् आपूर्ति बन्द भएको हो ।
दक्षिण पर्वतको बिहादी गाउँपालिकाको वडा नं २ र ३ रानीपानी र बराचौर अन्धकारमय बनेका हुन् । हावाहुरीका कारण अवरुद्ध भएको विद्युत् आपूर्ति मर्मतका लागि सम्बन्धित निकायले बेवास्ता गर्दा समस्या भएको स्थानीयवासीले बताएका छन् ।
विद्युत् आपूर्ति बन्द हुँदा साविकका बर्राचौर र रानीपानी गाविसका करिब एक हजार ५०० घरधुरी अन्धकारमा बस्न बाध्य भएका हुन् । रानीपानीको बरारुखमा रहेको मुख्य लाइनको फ्यूज गएको करिब एक महिना हुँदा एउटा फ्यूजसमेत प्राविधिकले नराखिदिँदा नागरिक समस्यामा परेको स्थानीयवासी गणेश पराजुलीले जानकारी दिए ।
रानीपानीका वडा प्राविधिकलाई खबर गर्दा मर्मतमा चासो नदिएकाले अझै केही दिन मर्मत गर्न नसकिने बताएको स्थानीयवासी लीलाधर पराजुलीले गुनासो गरे । विद्युत्को अभावले स्थानीयवासी सञ्चारको पहुँचबाटसमेत वञ्चित बनेका छन् । रासस