इजरायली स्याहारमा नेपाली
सुरक्षा र आम्दानी राम्रो भएकाले करीब १० हजार नेपाली महिला यतिबेला इजरायली वृद्धवृद्धाको स्याहार–सुसारमा छन्।
छिरिङ डोल्कर गुरुङ, इजरायलबाट
विगत १० वर्षदेखि दीपिका भुसालको दैनिकी पार्किन्सन्स् पीडित वृद्धाको स्याहारमा बितिरहेको छ। ७८ वर्षीया मल्का कोहेनलाई बिहानै नुहाइदिने, उनका लागि खाना तयार पार्ने, औषधि खुवाउने, बाहिर घुमाउन लैजाने, सजिलो अप्ठ्यारो विचार गर्ने उनको एकोहोरो इजरायल–दैनिकी वृद्धालाई अस्पताल लैजानुपर्ने दिनमा मात्रै केही फरक हुन्छ।
“काम सजिलै छ, आमा (कोहेन) को स्याहार गर्दा रमाएकी छु” दीपिका भन्छिन्, “तर, यहाँको एक्लोपनले भने कहिलेकाहीं दिक्क लाग्छ।”
इजरायलमा रहेका अधिकांश नेपाली महिलाजस्तै ३२ वर्षीया दीपिका लिभ–ईन केयर गिभर हुन्। कुनै पनि बेला 'आमा' लाई उनको आवश्यकता पर्न सक्ने हुँदा उनको सामाजिक जीवन भने खल्लो छ।
उनले नियमित भेट्ने छिमेककी उमा क्षेत्री हुन्, जो उनको जस्तै काम गर्छिन्। उनीहरू मिलेसम्म किनमेल गर्न सँगै जान्छन्। तर, यसरी बाहिर निक्लँदा पनि आफूले स्याहार्ने बिरामीलाई सँगै ह्विलचेयरमा डोर्याउनुपर्छ।
इजरायलमा कामदारहरूका लागि कानूनी सहायता र परामर्श उपलब्ध गराउने संस्था काभ ला ओभ्डका अनुसार यहाँ रहेका ६० हजार विदेशी 'केयर गिभर' मध्ये १५ प्रतिशत (करीब १० हजार) नेपाली छन्।
इजरायलको श्रम कानूनले कामदारलाई सातामा एक दिन विदाको सुनिश्चितता गरेको भए पनि धेरैजसो सातै दिन काम गर्न रुचाउँछन्।
“कमाउनकै लागि इजरायल आएकी हुँ, त्यसैले सकेजति काम गर्छु”, नेपालमा १७ र १५ वर्षका छोरीहरूलाई दिदीको रेखदेखमा छाडेर आएकी एकल आमा दीपिका भन्छिन्।
११ वर्षअघि म्यानपावर एजेन्सीलाई रु.४ लाख ५० हजार बुझाएर इजरायल आएकी उनले शुरुमा राम्लामा एक वृद्ध जोडीको स्याहार गरिन् तर उनीहरू नर्सिङ होममा सरेपछि कोहेनको स्याहारमा खटिएकी छन्। उनको ज्याला मासिक १४०० डलर छ, जसको अधिकांश भाग छोरीहरूको शिक्षादीक्षामा खर्च हुन्छ।
“छोरीहरू आफैले हुर्काउन, उनीहरूलाई नजिकै राखेर माया गर्न नपाएकोमा न्यास्रो लाग्छ” दीपिका भन्छिन्, “तर यहाँ पनि उनीहरूकै लागि काम गरिरहेकी त छु नि भनेर चित्त बुझाउँछु।”
विराटनगरकी उमा क्षेत्री (४३) लाई पनि श्रीमान् र दुई सन्तान छोडेर यहाँ आउन सजिलो थिएन। “हिब्रु भाषा सिक्न बरु त्यति गाह्रो भएन होला”, उनले ठट्टा गर्दै भनिन्।
इजरायलको कानूनले विदेशी कामदारहरूले आफ्ना परिवारका सदस्यलाई सँगै ल्याउन बन्देज लगाएको छ, इजरायलमै रहँदा विवाह गरेमा समेत पनि भिसा रद्द हुन्छ।
परिवारबाट अलग जीवन विताइरहे पनि दुवै इजरायल आउन पाएकोमा आफूलाई भाग्यमानी ठान्छन्। तुलनात्मक रुपमा बढी ज्याला, सुरक्षित वातावरण र कडा श्रम कानून भएकाले इजरायल आउन धेरै नेपाली महिला उत्सुक हुन्छन्।
तर, सन् २००९ अघिजस्तो नेपाली कामदारलाई इजरायल आउन सजिलो छैन। नेपालका म्यानपावर एजेन्सीले कामदारहरूबाट धेरै रकम असुलेको, कामदार छनोटमा पारदर्शिता नअपनाएको भन्दै तत्कालीन इजरायली सरकारले नेपाली कामदार भित्र्याउन बन्द गर्यो।
परिणामस्वरुप सन् २०१० मा इजरायलमा रहेका ७ हजार ४५० नेपाली श्रमिकको संख्या सन् २०१६ मा आइपुग्दा ४ हजार १११ मा झर्यो। तर यही अवधिमा वैध कागजात विना इजरायलमा रहेका कामदारको संख्या भने ५ प्रतिशतबाट बढेर ३० प्रतिशत पुग्यो।
काभ ला ओभ्डको प्रतिवेदन अनुसार नेपालीलाई पठाउने एजेन्सीहरूले इजरायल सरकारले भनेअनुसार भिसाको व्यवस्था मिलाउन नसकेकै कारण उनीहरू 'गैरकानूनी' भएका हुन्। इजरायलको कानून अनुसार करार अवधि समाप्त भएपछि कामदारहरू इजरायल बस्न पाउँदैनन्।
विदेशी केयर गिभरहरूले चार वर्ष तीन महीनाका लागि 'वर्क परमिट' पाउँछन्। एउटै रोजगारदातासँग एक वर्षभन्दा बढी काम गरिसकेकाहरूका हकमा भने उही रोजगारदाताले भिसाको म्याद थपका लागि अनुरोध गर्न सक्छ।
दुई वर्षअघि मात्रै इजरायलले नेपाली कामदारमाथिको प्रतिबन्ध हटाएको थियो। त्यसलगत्तै म्यानपावर एजेन्सीको मध्यस्थता विना नै 'नमूना परियोजना' अन्तर्गत ३०० नेपाली महिला कामदार इजरायल पठाउन नेपाल र इजरायल सरकारबीच सहमति भयो। तर, अनधिकृत बाटोबाट इजरायल भित्रिने नेपाली संख्या कम भएको छैन। प्रतिबन्ध लागेकै बेला पनि सयौं नेपाली नक्कली भारतीय राहदानी बोकेर इजरायल पसेका थिए।
नेपाल सरकारको तथ्यांक अनुसार भने, सरकारी प्रक्रिया पूरा गरी अहिलेसम्म ५९ जना नेपाली महिला मात्रै इजरायल पुगेका छन्। “इजरायलीहरू नेपाली केयर गिभरको सेवाबाट सन्तुष्ट देखिन्छन्, त्यसैले भविष्यमा कामदारको कोटा बढ्नेमा हामी आशावादी छौं”, इजरायलका लागि नेपाली राजदूत निरञ्जनकुमार थापा भन्छन्।