चक्रपथमा ट्रक र टिप्पर चलाउने समयसीमा तोकियो
२८ असारदेखि चक्रपथमा बिहान र बेलुका कार्यालय समयमा ट्रक, टिप्पर र मिनि ट्रक चलाउन नपाइने भएको छ ।
यातायात व्यवस्था विभाग, महानगरीय ट्राफिक प्रहरी महाशाखा र ट्रक तथा टिप्पर व्यवसायी महासङ्घको आज बसेको बैठकले बिहान ९ बजेदेखि ११ बजेसम्म र बेलुका ४ बजेदेखि ७ बजेसम्म सञ्चालनमा रोक लगाउने निर्णय गरेको हो ।
यातायात व्यवस्था विभागका प्रवक्ता डा. टोकराज पाण्डेले ट्रक, टिप्पर र मिनिट्रकलाई कार्यालय अवधिमा सञ्चालनका लागि रोक लगाउने निर्णय भएको बताए । उपत्यकाको ट्राफिक समस्या हल गर्न ट्रक र टिप्परको लागि समयसीमा तोकिएको उनले बताए ।
ट्रक तथा टिप्पर व्यवसायी महासङ्घका अध्यक्ष राजेन्द्र श्रेष्ठले जनताको सुविधाका लागि आफूहरुले ट्रक सञ्चालनमा रोक लगाउने निर्णयमा समर्थन गरेको बताए । रासस