दाङमा २० प्रतिशत थारु प्रमुख
दोस्रो चरणमा सम्पन्न स्थानीय तहको निर्वाचनमा दाङ जिल्लाभर २० प्रतिशत थारु प्रमुख पदमा निर्वाचित भएका छन् ।
दाङमा सात गाउँपालिका, एक नगरपालिका र दुई उपमहानगरपालिकासहित १० स्थानीय तह छन् । १० स्थानीय तहमध्ये दुई स्थानमा थारु प्रमुख निर्वाचित भएका हुन ।
प्रमुख पदमा निर्वाचित हुनेमा घोराही उपमहानगरपालिकाको मेयर नरुलाल चौधरी र दंगीशरण गाउँपालिकाको प्रमुख भागिराम चौधरी रहेका छन् ।
प्रमुख पदमा निर्वाचित हुने दुवै प्रमुख नेकपा एमालेबाट उम्मेदवार बनेका थिए ।
त्यसै गरी उपप्रमुख पदमा पनि २० प्रतिशत थारु महिला निर्वाचित भएका छन् । उपप्रमुख पदमा गढवा गाउँपालिकाबाट शान्ति चौधरी र राप्ती गाउँपालिकाबाट जगदम्बा चौधरी निर्वाचित भएकी छन् ।
शान्ति नेकपा एमालेको तर्फबाट उम्मेदवार बनेकी थिइन् भने जगदम्बा नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार बनेकी थिइन् ।
त्यसै गरी दाङका १०० वडामध्ये १८ वटाको वडा अध्यक्षमा थारु निर्वाचित भएका छन् । १८ वडामध्ये १० वडामा नेपाली कांग्रेस, ३ वडामा एमाले, ४ वडामा माओवादी केन्द्र र १ वडामा स्वतन्त्रबाट वडा अध्यक्षमा निर्वाचित भएका छन् ।
दाङको कुल जनसङ्ख्यामध्ये ३७.५ प्रतिशत थारु समुदायको जनसङ्ख्या छ ।
सन्तोष दहित (दाङ)