आज पनि सुनिएन भरतपुर मुद्धा
सर्वोच्च अदालतमा विचाराधिन रहेको भरतपुर महानगरपालिका– १९ को मतगणना विवाद सम्बन्धि मुद्धा फेरि स्थगित भएको छ ।
न्यायाधीश ओमप्रकाश मिश्रले व्यक्तिगत कारण देखाउँदै ‘हेर्न नभ्याइने’ बताएपछि २६ असारका लागि सुनुवाईको सूचीमा परेको मुद्धाको सुनुवाई सरेको हो ।
यसअघि २३ असारमा सुनुवाईका लागि तोकिएको मुद्धा २६ असारका लागि सारिएको थियो । न्यायाधीशद्धय ओमप्रकाश मिश्र र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासमा पेशी तोकिएको मुद्धाको सुनुवाई अब २ साउनमा हुनेछ ।
भरतपुर महानगरपालिकामा ३१ बैशाखमा भएको प्रथम चरणको स्थानीय तह निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेकै बेला माओवादीका प्रतिनिधिहरुले मतपत्र च्यातेपछि स्थगित हुन पुगेको थियो । निर्वाचन आयोगले भरतपुर–१९ मा पुनः मतदान गर्ने निर्णय गरेपछि यो विषय सर्वोच्च अदालतमा पुगेको थियो ।