समाचारशनिवार, आषाढ २४, २०७४

अर्गानिक बजार, खै परीक्षण ?

जीवनप्रसाद राई


कर्णालीमा उत्पादित अर्गानिक परिकार पाइने बत्तीसपुतली, काठमाडौंस्थित अर्गानिक चूलो । तस्वीरः बिक्रम राईकाठमाडौं र ललितपुर महानगरपालिकाका केही ठाउँमा हरेक शनिबार बिहान ७–११ बजे अर्गानिक बजार लाग्ने गरेको छ। ती बजारमा बाजुरा, बझाङ, मुस्ताङ, मनाङ, म्याग्दी, मुगु, जुम्ला, हुम्ला, डोल्पा, कालीकोटलगायतका दुर्गमका जिल्लाहरूमा फलेका भाँगो, सिमी, गेडागुडी, मार्सी चामल, फापरको पीठो, कोदाको पीठो, मकै, गहुँ, आलु, गेडागुडी र फलफूलहरू पाइन्छन्। त्यसबाहेक दुर्गमका रैथाने बालीका बेकरी परिकार, दूध–दही, अचार आदि पनि पाइन्छन् । 


कर्णालीमा उत्पादित अर्गानिक परिकार पाइने बत्तीसपुतली, काठमाडौंस्थित अर्गानिक चूलो । तस्वीरः बिक्रम राई

यी सब अर्गानिक (प्रांगारिक) नै हुन् भनेर पत्याउने आधार चाहिं केवल विश्वास हो। कुनै बेला विश्वासकै आधारमा नेपाली कफी, मह जस्ता वस्तुहरू विदेश पुग्थे। तिनमा विषादीको मिसावट भेटिन थालेपछि हामीले त्यो विश्वासको विश्व बजार सदाको लागि गुमायौं। वास्तवमा हामी नेपाली अजीवका छौं। हामी अर्गानिक उत्पादनको कुरा गर्छौं, काम पनि गर्न खोज्छौं, तर प्रयोगशाला (ल्याब) स्थापनामा न सरकार तात्छ न त निजी क्षेत्रले पहल गर्छ। अर्गानिक भनेर यतिका बजार खुलेका छन्, तर उपभोक्ताले महँगोमा विषादीसहितको खानेकुरा खाइरहेका छैनन् भनेर ढुक्क हुने कुनै आधार छैन ।

हामी साँच्चै अर्गानिक बजार बढाउन चाहन्छौं भने ल्याब स्थापना गर्नैपर्छ। यो उपभोक्ताको अधिकार पनि हो। ल्याब अत्यन्तै खर्चालु विषय पनि हैन। फेरि भरपर्दो प्रयोगशाला स्थापना हुनासाथ अर्गानिक कृषि उपजको बजार ह्वात्तै बढ्नेछ ।

दुर्गम जिल्लाका किसानहरूलाई अर्गानिक कृषि उपज, त्यसको भाउ, बजार आदिबारे जानकारी छैन। उनीहरूलाई आफूले फलाएको अनाज देशको कुन ठाउँमा बिक्री भइरहेको छ भन्ने पनि थाहा हुँदैन। उनीहरूले वास्तवमै अर्गानिक भनेर उत्पादन गरेका पनि हुँदैनन्। र, दुर्गममा पनि उत्पादन वृद्धिका लागि पाएसम्म पेष्टिसाइड प्रयोग हुन्छ नै। यद्यपि, त्यताका खाद्यान्न अर्गानिक नै हुन्छ भन्ने विश्वास छ, जसलाई व्यापारीहरूले काठमाडौं पुर्‍याउँछन् र विशुद्ध अर्गानिक भन्दै चर्को मूल्यमा बेच्छन् । एकातिर बीचमा मिसावट हुने संभावना प्रबल छ भने अर्कोतर्फ उत्पादकले सही मूल्य नपाउने र उपभोक्ताले महँगोमा किनेर खानुपर्ने अवस्था छ ।

दुर्गमका गाउँहरूमा पनि अहिले खेती प्रणालीमा परिवर्तन भएको छ। जहाज र खच्चडले तलका सेतो चामल र अन्य रेडिमेड सामग्रीदेखि कीटनाशक र रासायनिक विषादीहरूसम्म पुर्‍याउन थालेको छ। परिणाम, पुराना रैथाने बालीहरूको उत्पादन घटेर गएको छ। कर्णालीकै मार्सी चामल भए पनि पूर्ण अर्गानिक हो भनेर दाबी गर्न सकिंदैन। अर्को कुरा, सुर्खेतमै मार्सी धान फलेको कारण अब काठमाडौंको अर्गानिक बजारमा पाइने कर्णालीकै हो भन्न पनि सकिंदैन ।

कतिपयले कीरा लागेको तरकारी अर्गानिक हुन्छ भन्ने गरेको सुनिन्छ, तर काउली–बन्दा बाली समूहमा लाग्ने ईंटबुट्टे पुतली भन्ने मसिनो कीराले पेष्टिसाइड ओइराएको बालीमा पनि बिमाख गरेको हुन्छ। यो कीराले सबै खाले पेष्टिसाइड पचाइसकेको मानिन्छ। यो कीरा लागेको काउली वा बन्दा अर्गानिक भनेर किन्ने उपभोक्ता सीधै ठगिन्छन् ।

विषादी चलाएपछि निश्चित समयसम्म बाली भित्र्याउनुहुँदैन भन्ने ज्ञान नहुनु नेपालका जताततैका कृषकको समस्या हो। त्यो पूरै समय पर्खेर टिपिएको बाली पूर्ण रूपमा अर्गानिक नभए पनि खानका लागि सुरक्षित हन्छ। किसानहरूमाझ् यसबारे ज्ञान फैलाएर अर्गानिक खेतीतर्फ उत्प्रेरित गर्नु अति आवश्यक छ ।

अहिले हामीकहाँ भइरहेको अर्गानिक बजारको अभ्यासले कत्ति पनि फाइदा दिने देखिंदैन, उत्पादनदेखि खुद्रा बिक्री वितरणसम्मको चरणमा भएको अव्यवस्थाका कारण। अर्गानिक खेतीमा थुप्रै किसान संलग्न छन्, तर बजारमा कुन अर्गानिक, कुन गैर–अर्गानिक भन्ने अन्योल छ। किसान र उपभोक्ताका बीचमा नाफाखोर व्यापारीहरू छन् ।

कृषि विकास मन्त्रालय अर्गानिक खेती पद्धतिमा थोरै मात्र गम्भीर बन्ने हो भने हामीले अन्तर्राष्ट्रिय अर्गानिक बजारबाट धेरै फाइदा लिन सक्छौं। यसका लागि सर्वप्रथम ल्याब स्थापना, अर्गानिक उत्पादन क्षेत्र किटान, अर्गानिक बजार र मल–बीउ व्यवस्थापन गर्नुपर्छ। मूल्य र बजार राम्रो भएपछि जो पनि अर्गानिक उत्पादन गर्न खोज्ने समस्या आउँछ। त्यसलाई नियन्त्रण गर्ने भनेको उत्पादन मापदण्ड र भरपर्दो ल्याब टेष्टबाट नै हो। त्यसबाहेक सरकारले निश्चित क्षेत्रका कृषकहरूलाई तालीम दिएर, परीक्षा लिएर मात्र अर्गानिक खेती गराउने पद्धति बसाल्न सक्छ। अर्गानिक उत्पादन प्रणालीदेखि मार्केटिङसम्मको ज्ञान भएका कृषक र कृषि उद्यमी तयार पार्नु सरकारको दायित्व नै हो ।

त्यसरी जाने हो भने अर्गानिक उत्पादनप्रति आकर्षित विश्व बजारबाट हिमाली देश नेपालले छोटो समयमै ठूलो फाइदा लिन सक्छ। नेपाली बजारमै अर्गानिक उत्पादन खोज्ने उपभोक्ताको संख्या हेर्दा विश्व बजारको आकलन गर्न सकिन्छ। त्यसले नेपालको समृद्धिमा महत्वपूर्ण टेवा पुग्नेछ। यो हाम्रो नाकै मुनिको अवसर हो। अंग्रेजी बोल्ने बिक्रेता र क्रेतामा सीमित अहिलेको अर्गानिक बजारले ग्रामीण क्षेत्रमा उत्पादन र शहरका आम उपभोक्तामा विश्वास बढाउन सक्तैन। अर्गानिक कृषि उत्पादन र बजार विस्तारमा सरकार र निजी क्षेत्र योजनाबद्ध ढंगले नलागेसम्म काठमाडौंको अर्गानिक बजार विराटनगर, धनगढी, वीरगंज, सुर्खेत, चितवन, बुटवललगायतका शहरहरूमा विस्तार हुन सक्तैन ।

प्रतिकृया दिनुहोस