तुइन हट्दै, पुल बन्दै
रुकुम जिल्लामा चालू आर्थिक वर्ष २०७३/७४ मा १५ वटा झोलुङ्गे पुल निर्माण भएका छन्। केन्द्रीय योजना 'तुइन विस्थापन कार्यक्रम' अन्तर्गत रु.२ करोड १७ लाख खर्चेर ८ वटा र जिल्ला विकास समितिको नियमिततर्फ रु.२ करोड ९ लाखको लागतमा ७ वटा गरी जम्मा १५ वटा झोलुङ्गे पुल बनेका हुन् ।
१५ वटा पुल निर्माण भएसँगै जिल्लामा सञ्चालनमा रहेका तीन वटा तुइन विस्थापित भएका छन्। केपी शर्मा ओली नेतृत्वको सरकारले घोषणा गरेको तुइन विस्थापन कार्यक्रमअन्तर्गत यी तुइनहरू विस्थापित भएको जिल्ला प्राविधिक कार्यालयका इन्जिनियर पहल पुन बताउँछन् ।
यो वर्ष जीपूज्यूला–भलखोला (साविकको गाविस स्यालापाखा), टिमुबोट (रुकुमकोट), खालिवाङ (तकसेरा), पेदीखोला (प्वाङ), धौलागाड र सिस्नेगाड (सिस्ने), रुजीखोला (काँक्री) र घाटबाङ (रन्मामैकोट), टिउरी खोला (मग्मा), दोमाईखोला (स्यालाखदी), चुनखोला (चौखावाङ), मन्पू (महत), तल्लो पुवाङ (राङसी) मा झोलुङ्गे पुल निर्माण भएका हुन्। यस्तै छिपतरा (प्वाङ), उद्वन र खरगाउँ (सिस्ने) तथा बयाल्ने खोला र साझेबगर (स्यालाखदी) गरी पाँच वटा झोलुङ्गे पुल निर्माणाधीन अवस्थामा रहेको इन्जिनियर पुन बताउँछन्। उनी भन्छन्, “यी स्थानका पुल विशेषगरी भौगोलिक विकटता र उपभोक्ता समितिको निष्त्रि्कयताका कारण यही वर्ष निर्माण सम्पन्न हुन नसकेको हो ।
झोलुङ्गे पुलको निर्माणसँगै जिल्लाका दुर्गम गाउँका स्थानीयहरूको दैनिकी सहज बनेको छ। झोलुङ्गे पुल नहुँदा यस क्षेत्रका बासिन्दाहरूले तुइनबाटै घाँस, दाउरा, पानी, अन्नलगायतका सामग्री ओसारपसार तथा आवतजावत गर्दै आएका थिए। यसअघि झोलुङ्गे पुल नहुँदा तुइनबाट जोखिमपूर्ण यात्रा गर्न बाध्य रहेको तर अहिले सहज भएको काँक्रीका रुजिधन बुढा बताउँछन्। प्रत्येक झाेलुङ्गे पुलमा रु.१८ लाखदेखि रु.४४ लाखसम्म खर्च भएको जानकारी जिल्ला प्राविधिक कार्यालयले दिएको छ ।
जिल्लामा अझै १२८ वटा झोलुङ्गे पुलको माग रहेको जिल्ला प्राविधिक कार्यालयले जनाएको छ। २०६४ सम्म प्राविधिक कार्यालयमा १८० पुलको माग भएकोमा अहिलेसम्म ५५ वटा मात्र निर्माण भएको जिल्ला समन्वय समिति रुकुमका सूचना अधिकृत चिन्तामणि दाहाल बताउँछन् ।
प्रवीर ददेल, रुकुम