थप समाचारबिहिवार, आषाढ २२, २०७४

मेलम्चीको काम पुससम्म सकिएला: निर्देशक देवकोटा

हिमालखबर

मेलम्ची खानेपानी आयोजनाको सुरुङ निर्माणमा कमजोर चट्टान र पानी भेटिन थालेकाले पुससम्ममा काम सम्पन्न हुने मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक इन्जिनियर रामचन्द्र देवकोटाले बताएका छन् ।

सिन्धु–ग्याल्थुम सुरुङखण्डमा भूमिगत पानी मिसिएको कमजोर चट्टान भेटिएकाले हाल दैनिक १७ मिटरमात्र काम भइरहेको कार्यकारी निर्देशक देवकोटाले बताए ।

“सुरुङमा यस्तो भौगर्भिक स्थिति भेटिँदा कामदारको सुरक्षाको चिन्ता छ, कमजोर चट्टान आएपछि माटो, ढुङ्गा नआओस् भनी अड्याउन काम गर्नुपर्छ, यसले काममा ढिलाइ भएको हो” – उनले भने । 

हाल सिन्धुबाट ग्याल्थुमतिर, ग्याल्थुमबाट सिन्धु र मुहानतिर एवम् मुहानबाट ग्याल्थुमतिर गरी चार स्थानबाट सुरुङको काम भइरहेको छ । २७ दशमलव पाँच किमी सुरुङमध्ये अहिलेसम्म २५ किमीको काम सकिएको तर दुई दशमलव पाँच किमी सुरुङको काम बाँकी रहेको आयोजनाले जनाएको छ । 

सरकारले असोजसम्म मेलम्चीको पानी उपत्यकामा ल्याउने लक्ष्य राखे पनि पूरा हुन कठिन छ । पुससम्ममा सुरुङको काम सक्ने गरी काम भइरहेको देवकोटाले बताए।
रासस 

प्रतिकृया दिनुहोस