गलत काम गर्नेलाई छुटाउन औषधी व्यवसायीको गलत निर्णय
नियम विपरित औषधी बिक्री गरेको आरोपमा मकवानपुरमा पक्राउ परेका रेखा मेडिसिनका सञ्चालक तपसी साहलाई जोगाउन औषधी व्यवसायीहरुले व्यवसायिक प्रतिवद्धताविरुद्ध निर्णय गरेका छन् ।
डाक्टरको पूर्जी बिना नशालु तथा मनोद्विपक (नारकोटिक र साइकोट्रोपिक) औषधी बिक्री गरेको आरोपमा पक्राउ परेका साहलाई जोगाउन उनीहरुले अबदेखि कसैलाई पनि त्यस्ता औषधी बिक्री नगर्ने निर्णय गरेका हुन् ।
नेपाल औषधी व्यवसायी संघ नारायणी अञ्चल शाखाको वीरगञ्जमा बसेको बैठकले नारकोटिक र साइकोट्रोपिक औषधीहरु डाक्टरको पूर्जी लिएर आउने विरामीहरुलाई समेत बिक्री नगर्ने निर्णय गरेको छ ।
वीरगञ्जमा २१ भदौ बिहान उनीहरुले पत्रकार सम्मेलनको आयोजना गरेर औषधी बिक्री नगर्ने निर्णय गरेको सुनाए ।
पत्रकार सम्मेलनमा संघका नारायणी अञ्चल अध्यक्ष महम्मद ताजुदिन अन्सारीले डाक्टरको पूर्जी बिना नशालु तथा मनोद्विपक औषधी बेच्दा
प्रहरीले पक्राउ गरेकोले अबदेखि त्यस्ता औषधी बिक्री नै नगर्ने निर्णय गरिएको जानकारी दिए ।
उनले औषधी व्यवसायी साहलाई मकवानपुर प्रहरीले दुःख दिने नियतले पक्राउ गरी यातना दिइरहेको आरोप लगाउँदै साहलाई तत्काल रिहा गर्न माग समेत गरे ।
पत्रकार सम्मेलनमा संघका उपाध्यक्ष प्रदीप खण्डेलवाल, महासचिव पप्पुकुमार झा लगायतको पनि उपस्थिति थियो ।
औषधी व्यवसायीहरुले सरकारले नशालु तथा मनोद्विपक औषधी बिक्रीमा प्रतिबन्ध लगाएको भन्दै गलत प्रचार समेत गरेका छन् । वास्तवमा औषधी व्यवस्था विभागले त्यस्ता औषधीहरु व्यवस्थित रुपमा नियमअनुसार मात्रै बिक्री गर्न भनेको छ ।
त्यस्ता औषधीहरुको दुरुपयोग हुनसक्ने भएकोले डाक्टरले औषधी लेखेको पुर्जा सहितको रेकर्ड राख्नुपर्ने प्राबधान छ ।
औषधी व्यवस्था विभाग शाखा कार्यालय वीरगञ्जका फार्मेसी सुपरभाईजर प्रविण बिक औषधी व्यवसायीहरुले ऐन विपरित कुनै औषधी बेच्छु कुनै बेच्दिन भन्न नपाउने बताउँछन् ।
बिरामीलाई आवश्यक पर्ने सबै खाले औषधी बिक्रि गर्छु भनेर औषधी पसल सञ्चालनको अनुमति लिएका हुन्छन् । तर, डाक्टरको पूर्जा अनुसार र रेकर्ड राखेर मात्रै बिक्री गरिनुपर्ने उनले बताए ।
पर्साका प्रमुख जिल्ला अधिकारी केशवराज घिमिरेले औषधी व्यवसायीहरुले कानून उल्लंघन गरे कारबाही गर्ने चेतावनी दिएका छन् ।
सरकारले व्यवस्थित रुपमा बिक्री गर्नु भनेका औषधीहरु खुलेआम डाक्टरको पूर्जा बिना बिक्री गर्न पाउनुपर्छ भन्नु गैरकानूनी काम भएको प्रजिअ घिमिरेले बताए । व्यवस्थित रुपमा बिक्री गर भन्दा औषधी नै बिक्रि गर्दिन भन्छन् भने त्यसको बिकल्प खोजिने उनको भनाई छ ।
सुरेश बिडारी, वीरगञ्ज