कला/साहित्यसोमवार, आषाढ १९, २०७४

चलचित्र अवार्डको खेती

हिमालखबर

दीपक बज्राचार्य

चलचित्र क्षेत्रकाे विकासभन्दा पनि आफ्नो गलत स्वार्थ पूरा गर्न आयोजित अधिकांश चलचित्र अवार्डहरूले सम्मान र पुरस्कारका नाममा प्रदूषण फैलाइरहेका छन् ।

निष्पक्ष र विवादरहित चलचित्र अवार्ड वितरण गरिने दाबीसहित नयाँ अवार्ड कार्यक्रम नेम्पाको घोषणा, डी सिने अवार्डको मनोनयन सार्वजनिक र एनएफडीसी अवार्डको पुरस्कार वितरणसँगै नेपाली चलचित्र क्षेत्रमा यस वर्ष अवार्डको मौसम शुरू भइसकेको छ ।

दुई वर्षअघि मलाई पनि यस्तै एक चलचित्र महोत्सवको निर्णायक बन्ने मौका जुरेको थियो । तर, जिम्मेवारी बहन गर्नुअघि नै निर्णायकका तर्फबाट आयोजकलाई शर्त राखियो, निर्णायकले छानेकै प्रतिभालाई पुरस्कृत गर्ने । वास्तवमा यो कुनै शर्त थिएन तर अन्तिम समयमा आयोजकले दबाब दिन्छन् भन्ने हामीले सुनेका थियौं ।

आयोजकलाई नतिजा बुझाइसकेपछि अवार्ड घोषणा हुने बिहान आयोजकमध्येका एक हर्ताकर्ताले सर्वोत्कृष्ट अभिनेत्रीको अवार्ड निर्णायकले छानेकाभन्दा फरक व्यक्तिलाई दिन आग्रह गरे । उनको अनुरोध थियो– जसलाई तपाईंहरूले छान्नुभयो, उनी अहिले विदेश पलायन भइसकिन् । हामीले सिफारिश गरेकी अभिनेत्रीको यो क्षेत्रमा लामो समयदेखिको योगदान छ, उनलाई दिंदा हौसला पनि हुन्छ ।

पहिल्यै शर्तमा मञ्जुरी जनाइसकेका आयोजकहरूको यस्तो आग्रह मेरा लागि अनपेक्षित र अस्वाभाविक थियो । तर, बहुमत निर्णायक आयोजककै पक्षमा उभिए पछि केही जोर चलेन । आयोजकले भनेकै अभिनेत्री सर्वोत्कृष्ट घोषित भइन् ।

मेरा लागि यो नौलो अनुभूति थियो । थाहा भयो, यस्ता अवार्ड कार्यक्रमहरू विभिन्न संगठनका स्वार्थ अनुरूप हुने रहेछ । व्यापक चलखेल हुने रहेछ । यस्तो चलखेलमा नेपाल चलचित्र विकास बोर्डले आयोजना गर्ने राष्ट्रिय चलचित्र पुरस्कारसमेत अछुतो छैन ।

जुन राजनीतिक पार्टीको सिफारिशमा जो व्यक्ति बोर्डको अध्यक्ष भएर आउँछ, पुरस्कृत हुनेमा तिनै पार्टीसँग नजिक चलचित्रकर्मी वा नजिकका चाटुकारहरूले पाउने कुरा सुन्दै र भोग्दै नै आएका छौं । हुँदाहुँदा सञ्चारमन्त्रीको ठाडो आदेशमा फलाना अभिनेत्रीले राष्ट्रिय चलचित्र पुरस्कार पाएको हल्ला पनि चल्यो ।

निजी संस्थाहरूले गर्ने अवार्ड कार्यक्रमको आफ्नै उपयोगिता, बजार अर्थतन्त्र होला, तर राष्ट्रले गर्ने अवार्डमा त यस्तो नभए हुन्थ्यो । जसबाट विजेता र निर्णायकले समेत गर्वको अनुभूति गर्न सकुन् ।

बेथिति अर्को पनि छ । यस पटकको डी सिने अवार्डको लागि उत्कृष्ट अभिनेता विधामा फारम भरेर पठाएका कलाकारको नाम मनोनयन भएर आउ“दा उत्कृष्ट पाँच बाल कलाकारमा पारिएछ । बाल कलाकार मुख्य अभिनेता हुन सक्दैन भन्ने गलत बुझाइका कारण यस्तो भएको हो वा अरू केही, यो त समयले नै बताउला ।

रोचक कुरा त के देखिन्छ भने, उस्तै धारका महोत्सवहरूमध्ये एउटामा पुरस्कार कुम्ल्याएका चलचित्र र कलाकार अर्कोमा मनोनयनमै पनि पर्दैनन् । ‘एउटामा अवार्ड, अर्कोमा पत्तासाफ’ कान्तिपुर मा केहीअघि यही शीर्षकमा समाचार नै छापिएको थियो ।

यस्तो कसरी हुन्छ ? स्वार्थ र चलखेलका कुरा त माथि गरिसकियो । तर, यसका लागि आयोजकलाई मात्र दोष दिएर पुग्दैन, निर्णायकमा पनि खोट देखिन्छ । विभिन्न खालका लोभ र दबाबबाहेक निर्णायककै कार्यक्षमताका कमजोरीका कारण पनि एउटाले पाउनुपर्ने अवार्ड अन्तै पुग्छ ।

दक्ष निर्णायकको खाँचो
प्रायः निर्णायक सदस्यहरूमा चलचित्र निर्देशक, कलाकार, छायांकन, सम्पादन र ध्वनि आदिबाट एकजना, चलचित्र पत्रकार वा समीक्षकबाट एकजना र कहिलेकाहीं गीतसंगीत तथा साहित्य क्षेत्रबाट एकजना राख्ने चलन छ । मानिलिऊँ, चलचित्र बनाउन निर्देशकले आफ्नो विधाको काम मात्र जाने पुग्ला । छायांकन, सम्पादन, कलाकारितालगायत अन्य सबै विधामा यही लागू होला । तर, निर्णायकले चाहिं सही निर्णय दिन यी सबै विधामा उत्तिकै ज्ञान र दक्खल राखेको (समग्रमा चलचित्रको भाषा राम्ररी बुझेको) हुनुपर्छ । सँगसँगै निर्णायक मण्डलीका सदस्यहरूको पारिवारिक, सामाजिकलगायत अध्ययन, योग्यता, अनुभव, दक्षता आदिले पनि उत्कृष्ट छनोटमा भूमिका खेलेको त हुन्छ नै ।

जुरी सदस्य बीचका केही घोषित अघोषित विमतिलाई छोडेर आयोजकलाई बुझाइएको अन्तिम निर्णयबाट सर्वोत्कृष्टताको फरक नतिजा आएमा कम्तीमा इमानदारीपूर्वक जुरी सदस्यहरूले यसलाई अस्वीकार गरे मात्र पनि अहिलेलाई एक खुट्किला माथि चढ्न सकिन्थ्यो कि ! यसो हु“दा आगामी दिनमा आयोजकको मनोमानी पनि घट्ने र सम्मानित जुरी सदस्यहरूको साख पनि बच्थ्यो ।

हुन त एक जनालाई राम्रो लागेको चिज अर्कोलाई पनि राम्रो नै लाग्नुपर्छ भन्ने छैन तर केही अपवाद छाडेर भन्नु पर्दा निर्णायक मण्डलीका सदस्यहरूको विश्वसनीयतामाथि प्रश्न उठाउनुपर्ने ठाउँ प्रशस्त छ । प्रत्येक वर्ष दोहोरिने एकै सदस्यहरू देख्दा लाग्छ, केहीका लागि यो नै खाने मेसो भएको छ ।

कुनै कुनै निर्णायक मण्डलीमा त छायांकन विधाका सदस्य नै हुँदैनन् । ‘छायांकन भनेको क्यामेराले खिच्ने त हो नि’ भनेर हल्का रूपमा लिने गरिएको पनि सुनिएको छ । यो त हदैसम्मको अज्ञानता हो ।

निर्णय निष्पक्ष र पारदर्शी बनाउन विभिन्न विधामा उत्कृष्ट छनोटको मापदण्डहरू सार्वजनिक गर्न सकिन्छ । जसबाट दर्शक आफैंले पनि निर्णयबारे मूल्यांकन गर्न पाउँथे । यस्तो मापदण्ड भने निजी र सरकारी तहको अलि फरक हुनुपर्छ । निजी संस्थाले आफ्नो उद्देश्य अनुसारको मापदण्ड बनाए पनि सरकारले चाहिं व्यावसायिक रूपमा सफल नभएका तर विषय र कलामार्फत योगदान दिएका चलचित्रलाई प्रोत्साहन गर्न अघि सर्नुपर्छ ।

प्रश्न यो पनि छ, अमेरिकामा गोल्डेन ग्लोब तथा ओस्कार, बेलायतमा बाफ्टा, भारतमा राष्ट्रिय चलचित्र पुरस्कार, फिल्मफेयर र अन्य एक या दुई अवार्ड भए जस्तै हाम्रो देशमा कतिवटा अवार्ड बाँड्ने ? कुनलाई आधिकारिक र प्रतिष्ठित मान्ने ? जनताले कुन अवार्डलाई महत्व दिने ? यसबारे बहस हुन जरूरी भइसकेको छ । किनकि, अहिले चलचित्रकर्मी अवार्ड प्रतिभाको परख गर्ने कामभन्दा बढी आयोजक र प्रायोजकलाई मन परेकालाई जिताउने र विभिन्न देश घुमाउने ‘धन्दा’ झैं बनिरहेको छ ।

(बज्राचार्य चलचित्र छायांकार हुन् ।)

प्रतिकृया दिनुहोस