रिपोर्टशनिवार, आषाढ १७, २०७४

बाजुराको बिच्छ्याँ, एउटा बेग्लै नेपाल

हिमालखबर

प्रकाश सिंह, बाजुरा

एउटा त्यस्तो गाउँ जहाँ नुन प्रति किलो रु ६० देखि रु १०० सम्म र चामल प्रति किलो रु १२० भन्दा बढी पर्छ ।


बिच्छ्याँ माविमा कक्षाकोठा अभावमा पाल टाँगेर विद्यार्थीलाई पठनपाठन गराइँदै । तस्वीरहरुः प्रकाश सिंह

बाजुराकै अति विकट र दुर्गममा रहेको साविकको बिच्छ्याँ गाविस तथा अहिलेको हिमाली गाउँपालिकाको १, २ र ३ वडाका नजिकको गाउँ पुग्न सदरमुकाम मार्तडीबाट तीन दिन र अन्तिम सीमाना पुग्न दश दिन भन्दा बढी लाग्छ। जिल्लाको ३५ प्रतिशत भूभाग ओगटेको बिच्छ्याँको जनसंख्या २७ सय २३ छ– पुरुष १४ सय २३ र महिला १३ सय। बिच्छ्याँमा विकास निर्माण शून्य जस्तै छ। सडक परै जाओस्, गोरेटो समेत नहुँदा खच्चड पनि हिंड्दैनन्। स्थानीय बिर्खबहादुर भण्डारी 'भरिया र भेडाबाट हिउँदमा औलबाट खाद्यान्न र वर्षात्मा चीनबाट ढिक्के नुन बोक्ने गरेको' बताउँछन्। गाउँमा नुन प्रति किलो रु.६० देखि रु.१०० सम्म र चामल प्रति किलो रु.१२० भन्दा बढी पर्छ। एउटा मात्र मावि छ। विद्युत् त छैन, बिजुली बाल्ने कुनै सुरसार पनि छैन ।

विकासको यो गति

बिच्छ्याँको सिउडेनी खोलामा दुर्गम क्षेत्र विकास कार्यक्रम अन्तर्गत बनेको यो पुल कोल्टे पर्दा आवतजावत बन्द छ ।

बिच्छ्याँको सिउडेनी खोलामा दुर्गम क्षेत्र विकास कार्यक्रमअन्तर्गत जिल्ला विकास समितिले झण्डै रु.१५ लाख खर्चेर पुल बनायो, २०६६ सालमा। २०७१ सालमा यो भासियो पनि। मूल बाटोको पुल नै कोल्टे परेपछि गाउँ जान–आउन नदी तर्नुपर्छ, बर्खामा आवतजावत ठप्प हुन्छ। पुल नहुँदा रुम्दी, सिउडेनीका बिच्छ्याँ माविमा अध्ययनरत विद्यार्थी सकसमा पर्छन्। पटक–पटक पुल बनाइदिन भने पनि कसैले वास्ता नगरेको स्थानीय अम्मलाल बुडथापा बताउँछन्।

साविकको बिच्छ्याँ गाविसको कार्यालय देउसैनमा छ र गाविसभरिको एउटै मावि पनि। बिच्छ्याँमा अहिलेसम्म पनि कुनै प्रमुख जिल्ला अधिकारी र स्थानीय विकास अधिकारी नपुगेको स्वयम् प्रजिअ देवेन्द्र लामिछाने स्वीकार्छन्। अनुगमनमा कोही गइहाल्यो भने पनि साविकको रुगिन गाविसको कवाडीबाट फर्कन्छ। यी तीन वडाका लागि सचिव नियुक्त गौरीकान्त सञ्जेल वडा नं ३ को गुम्बा गाउँ पुगिनसकेको स्वीकार्छन्। उनी भन्छन्, “धेरै टाढा र समस्या छ भन्ने सुनेको छु तर पुगेको छैन।”

गुम्बा जाने बाटोमा पर्ने बेहालेभीरमा स्थानीयले काठको फलेक माथि ढुङ्गा बिच्छ्याएर बनाएको बाटो ।

बिच्छ्याँ मावि जहाँ कक्षा १ देखि १० सम्मका २२९ जना विद्यार्थी छन्– कक्षा कोठा अपर्याप्त हुँदा पठनपाठनमा समस्या छ। कतिपय कक्षाका विद्यार्थी खुल्ला आकाश मुनि पढ्छन्। पानी पर्दा केही कक्षाका विद्यार्थीलाई घर पठाइन्छ भने केहीलाई पालमा राखेर पढाइने स्थानीय पुने थापा बताउँछन्। बिच्छ्याँ माविमा मात्र नभई गाउँभरिका अन्य दुई प्रावि र तीन निमाविमा समेत भौतिक पूर्वाधार र जनशक्तिको अभाव रहेको जिल्ला शिक्षा कार्यालय बाजुराका विद्यालय निरीक्षक उमेश रेग्मी स्वीकार्छन्। 

जोखिमको स्वास्थ्य सेवा

वडा नं. ३ गुम्बा गाउँका बासिन्दा स्वास्थ्योपचारका लागि कि देवलसैनस्थित स्वास्थ्यचौकी या त कोल्टी वा मार्तडी पुग्नुपर्छ, जोखिम मोलेर। वर्षात्का चार महीना गुम्बा र सदरमुकामबीचको सम्पर्क विच्छेद नै हुन्छ। गुम्बाबाट बिच्छ्याँको बौडीसम्म आउन दुई वटा ठूला नदी कवाडी र बौडी तर्नुपर्छ। नदीमा पुल छैन, हिउँदमा ढुंगामा ओच्छ्याइएको काठको फलेकबाट वारपार गरिन्छ।

बौडीबाट गुम्बा गाउँ जाँदा तर्नुपर्ने छिन्दुरी खोलामा स्थानीयले बनाएको काठेपुल ।

त्यसो त कवाडी नदीको किनार र भीर भएर हिंड्नुपर्ने हुँदा हिउँदकै आवागमन पनि जोखिमपूर्ण छ। फुलीगुम्बा नजिकैको भीरमा समेत काठ राखेर वारपार गरिन्छ। बीचबीचका जंगलमा भालुले आक्रमण गर्ने खतरा छँदैछ। ज्यानै जोखिममा पारेर हिउँदमा औलबाट खाद्यान्नलगायत अन्य मालसामान बोक्ने गरेको स्थानीय जगत लामा बताउँछन् ।

न बाटो न पुल, न स्वास्थ्यचौकी न त कक्षाकोठा सहितको विद्यालय– लाग्छ, गुम्बाको जमीनमा सरकारले टेकेकै छैन। स्थानीयहरूमा सरकार भएको अनुभूति छैन ।

बिच्छ्याँको केन्द्र देवलसैनमा स्वास्थ्यचौकी छ। जहाँसम्म गुम्बा गाउँबाट पुग्न दुई दिन लाग्छ। जान आउन एक–एक दिन र उपचारमा एक दिन मात्र लाग्दा पनि तीन दिन खर्च हुन्छ। नजिक भनिएका कोटगाउँ, कोटी गाउँ, बौडी, युना, बामु र टिन गाउँका बासिन्दाका लागि पनि स्वास्थ्यचौकी पुग्न ६–७ घण्टा लाग्छ। सामान्य औषधिमूलो गर्न समेत बास बस्नुपर्ने भएपछि अधिकांश मानिस जडीबुटीको उपचारमा सीमित रहने कोटी गाउँका भक्त रोकाया बताउँछन्। बढी बिरामी भएकालाई भने बोकेर कोल्टी पुर्‍याइने गुम्बाका स्थानीय जगतबहादुर लामा बताउँछन्। नियमित गर्भ जाँच, खोप, भिटामिन 'ए' कार्यक्रम, सुत्केरी सेवा जस्ता कुरा त यहाँका बासिन्दाका लागि कसैले भनेदेखि सुन्नेसम्ममा सीमित छ।

स्थानीयमा परिवार नियोजनका बारेमा जानकारी छैन। स्वास्थ्यचौकीका इन्चार्ज कमल आचार्य भन्छन्, “यी तीन वडाभरि पाँच जनाले स्थायी बन्ध्याकरण गरेका छन्, धेरै जसोले गर्नै मान्दैनन्।” गाउँ निकै टाढा भएकाले स्वास्थ्य सेवा दिन नसकेको स्वीकार्ने आचार्य गुम्बा र बामु जस्ता गाउँ वर्षात्को चार महीना सम्पर्कविहीन नै हुने भएकोले त्यतिबेला गाउँमा के भयो जानकारी समेत नहुने बताउँछन्।

फोन गर्न भत्ता !

३१ वैशाखमा सम्पन्न स्थानीय तहको पहिलो चरणको निर्वाचनको समाचार सुन्न बिच्छ्याँका राजनीतिक दलका कार्यकर्ता र सामाजिक अगुवा दुई–तीन दिन लगाएर सदरमुकाम तथा कोल्टी पुगेको स्थानीयवासी एमाले जिल्ला कमिटी सदस्य बिर्खबहादुर भण्डारी बताउँछन्। देश विदेशको खबर पुग्न हप्ता दिन भन्दा बढी लाग्ने बताउने भण्डारी भन्छन्, “कसैको मृत्युको खबर त किरियाकर्म सकेपछि मात्र थाहा पाइन्छ।”

सरकारले प्रत्येक गाउँमा सञ्चारको पहुँच पुर्‍याइसकेको बताए पनि बिच्छ्याँ भने सञ्चारविहीन छ। २०६८ को जनगणना अनुसार बिच्छ्याँमा ५०७ घरधुरी छन्। तर एउटैमा पनि सञ्चारको कुनै साधन छैन– न टेलिफोन न त रेडियो टिभी ।

दुई दिनको बाटोमा रहेको हुम्लाको ताजाकोट गाउँपालिकाको मैला वा बाजुराको रुगिन पुगेर फोन गर्न पाइन्छ। “फोन नगरी नहुने भएपछि त्यहाँ पुग्छौं तर त्यहाँ पनि राम्रोसँग सुनिंदैन”, स्थानीय धनसिंह थापा भन्छन्। शेरबहादुर देउवा प्रधानमन्त्री भएको पाँच दिन पछि मात्र थाहा पाएको थापा बताउँछन् । 

रोचक त के भने बिच्छ्याँमा काम गर्ने गैरसरकारी संस्थाका कर्मचारीले फोन गर्नै दैनिक भ्रमण भत्ता पाउँछन्। 'फेज नेपाल' नामक गैरसरकारी संस्थामा कार्यरत देवराज थापा भन्छन्, “महीनाको एकपटकको रिपोर्टिङका लागि फोन गर्न बापत दैनिक रु.११ सयका दरले दुई दिनको भ्रमण भत्ता पाइन्छ।”

प्रतिकृया दिनुहोस