अपहरणमा परेका व्यापारी राजकुमार श्रेष्ठको शव सल्यानमा फेला
गत २६ जेठमा अपहरणमा परेका दाङ तुलसीपुरका व्यापारी राजकुमार श्रेष्ठको शव सल्यानमा भेटिएको छ ।
सल्यानको छत्रेश्वरी गाउँपालिका–४ पाथिभरा लेकको वनमा उनको शव सडेको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । श्रेष्ठको शव दाङ पठाउन लागिएको छ ।
एसएसपी ज्ञानविक्रम शाहका अनुसार अपहरणमा संलग्न रहेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ । उनीहरुका बयानका आधारमा श्रेष्ठको शव फेला परेको हो ।
श्रेष्ठ दाङको तुलसीपुरस्थित बीपी चोकमा बुटवल वस्त्रालयका सञ्चालक थिए ।
उनीसँगै अपहरणमा परेका घोराहीका अर्का व्यवसायी रणबहादुर घर्तीको अवस्था अझै अज्ञात छ ।
यसअघि १८ वैशाखदेखि वेपत्ता भएका दाङका व्यापारी रत्नबहादुर वली एक महीनापछि चौपट्टाको वनमा मृत अवस्थामा फेला परेका थिए ।