जमिन बाँझो राख्न नपाइने गाउँपालिकाको निर्णय
उत्तरी लमजुङमा रहेको मर्स्याङ्दी गाउँपालिकाको पहिलो बैठकले गाउँपालिकाभित्र जमिन बाँझो राख्न नपाइने निर्णय गरेको छ ।
गाउँपालिका अध्यक्ष अर्जुन गुरुङको अध्यक्षतामा बसेको बैठकले गाउँपालिकाभित्र रहेको जमिनको अधिकतम उपयोग गरी आर्थिक प्रवर्द्धनमा टेवा पुर्याउन विशेष प्राथमिकताका साथ भू–उपयोग नीति अवलम्बन गर्ने निर्णय गरेको हो ।
बैठकले गाउँपालिकाबाट प्रवाह गरिने सेवाहरु र प्रशासनिक कामलाई छिटोछरितो र व्यवस्थित बनाउन कार्यालय र सम्पूर्ण वडा कार्यालयलाई सूचना प्रविधिमैत्री बनाउने निर्णय पनि गरेको छ ।
बैठकले एक गाउँ एक ल्यान्डफिल साइट निर्माण, पर्यटन क्षेत्रको प्रवर्द्धनका लागि वृत्तचित्र निर्माण, विद्युत् र टेलिफोन सेवामा भएको समस्यालाई सम्बोधनलगायतका निर्णय गरेको छ ।
रासस