निर्वाचनको तयारी पूरा, ढुक्क भएर मतदान गर्न आयोगको आग्रह
निर्वाचन आयोगले दोस्रो चरणमा प्रदेश नं १, ५ र ७ का ३५ जिल्लाका ३३४ स्थानीय तहमा भोलि, १४ असारमा हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।
आयोगले आज आयोजना गरेको पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको बताएका हुन् ।
डा यादवले भने, “निर्वाचनमा सुरक्षाको भरपर्दो व्यवस्था मिलाइएको हुँदा ढुक्क भएर मतदानमा सहभागी हुन आग्रह गर्दछु ।”
मतदाताले भोलि बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म मतदान गर्न सक्नेछन् ।
निर्वाचनमा ६४ लाख ३२ हजार ७६५ मतदाताले १५ हजार ३८ प्रतिनिधि निर्वाचित गर्नेछन् । ३३४ स्थानीय तहमा ६२ हजार ४०८ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।
आयोगका अनुसार देशभर चार हजार ५८१ मतदानस्थलमा आठ हजार ३६४ मतदान केन्द्र निर्धारण गरिएको छ । मतदानमा सुरक्षाकर्मीबाहेक ६६ हजार ९०० कर्मचारी खटिएका छन् ।