भरतपुरमा च्यातिएका मतपत्र सर्वोच्चमा
भरतपुर महानगरपालिका वडा नं १९ को मतगणना विवादबारे सर्वोच्च अदालतले मागेका कागजपत्र र च्यातिएका ९० वटा मतपत्र जिल्ला निर्वाचन अधिकृतको कार्यालयले आज सर्वोच्चमा पठाएको छ ।
भरतपुरको कभर्डहलमा कपडाले पोको पारेर राखिएका मतपत्रलाई मतपेटिकामा राखेर सिल गरी पठाइएको हो । मुख्य निर्वाचन अधिकृत कविलप्रसाद न्यौपाने, सहायक मतदान अधिकृत गम्भीर घिमिरे र प्रहरी नायब निरीक्षक गोविन्द श्रेष्ठ मतपत्र लिएर काठमाडौँ आएका छन् ।
सर्वोच्च अदालतले भरतपुर महानगरपालिकामा च्यातिएका मतपत्र एक साताभित्र झिकाउन ६ असारमा आदेश दिएको थियो । कायममुकायम प्रधानन्यायाधीश गोपालप्रसाद पराजुली र न्यायाधीश हरिकृष्ण कार्कीको संयुक्त इजलासले मतपत्र झिकाउन आदेश दिएको हो ।