समाचारआइतबार, ११ आषाढ , २०७४

थवाङको चुनाव

तुफान न्यौपाने

आगोले सल्कँदै गरेको मतपेटिकाको माथिपट्टि ‘कथित स्थानीय चुनाव खारेज गरौं’ भन्ने आह्वान गरिएको नेपाल कम्युनिष्ट पार्टी (नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्व) को पोष्टर (हे. तस्वीर) रोल्पा सदरमुकाम लिवाङमा छ्याप्छ्याप्ती भेटिन्छ ।

तर, थवाङ गाउँपालिकाकै निर्वाचनमा नेकपामा आबद्ध रहेका २१ युवाले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । 

२०७० को निर्वाचनमा शून्य मतदान भएको तत्कालीन थवाङ गाविस अहिले उवा र मिरुल गाविससमेत मिसाएर बनेको थवाङ गाउँपालिकाको केन्द्र हो ।

पाँच वटा वडा रहेको यो गाउँपालिकाको वडा नम्बर १ र २ तत्कालीन थवाङ गाविसमा पर्छन् । मिरुल गाविस वडा नम्बर ३ तथा उवा गाविस वडा नम्बर ४ र ५ मा बाँडिएका छन् । यी पाँच वडामा नेकपामा आबद्ध रहेका २१ युवाको स्वतन्त्र उम्मेदवारी परेको हो । नेकपाका रोल्पा सचिव दलबहादुर खत्री भने पार्टीको तर्फबाट उम्मेदवारी नपरेको बताउँछन् ।

गाउँपालिका अध्यक्षमा अमित घर्ती उम्मेदवार बनेका छन् । उपाध्यक्षमा भने नेपाली कांग्रेसकी श्रीकुमारी मगरले उम्मेदवारी दिएकी छन् ।

वडा नम्बर १ र २ मा स्वतन्त्रबाट क्रमशः फर्कबहादुर रोका र लीलाराम रोकाले अध्यक्षमा उम्मेदवारी दिएका छन् । यी दुवै वडामा स्वतन्त्रका दुई खुल्ला सदस्य, एक महिला सदस्य र एक दलित सदस्य गरी उम्मेदवारहरूको ’सेट’ नै छ ।

नेपाली कांग्रेसले स्वतन्त्र टीमसँग समझदारी गरी यी वडामा दिएको उम्मेदवारी पनि फिर्ता लिएको छ । त्यसको बदलामा स्वतन्त्र समूहबाट वडा नम्बर ३ मा अध्यक्षको उम्मेदवारी फिर्ता लिएर कांग्रेसका उम्मेदवार खरिलाल डाँगीलाई सहयोग गर्ने भनिएको छ । यो वडामा महिला सदस्यमा कांग्रेसले अमितको स्वतन्त्र टीमलाई छोडिदिएको छ ।

नेपाली कांग्रेसबाट थवाङ गाउँपालिकामा उपाध्यक्षकी उम्मेदवार श्रीकुमारी रोका । 

वडा नम्बर ४ र ५ को अध्यक्षमा क्रमशः डुकमान रोका र हिक्मत घर्ती स्वतन्त्र टीमबाट उम्मेदवार बनेका छन् र दुवै वडामा उनीहरूको सबै पदमा उम्मेदवारी छ । यी वडामा कांग्रेससहित माओवादी केन्द्रले पनि सबै पदमा उम्मेदवारी दिएको छ । वडा नम्बर ३ र ४ मा दलित महिला सदस्यमा माओवादी केन्द्रका उम्मेदवार निर्विरोध भइसकेका छन् ।

थवाङमा उम्मेदवारी दर्ता र त्यसपछिको केही पदमा फिर्ताको अवस्था हेर्दा माओवादी केन्द्र विरुद्ध अरु दल एक ठाउँमा उभिए जस्तो देखिन्छ ।

वडा नम्बर ३ मा कांग्रेस र स्वतन्त्र उम्मेदवारले एक खुल्ला सदस्य एमालेका लागि छोडिदिएका छन् भने एमालेले आफ्ना अन्य पदका उम्मेदवारलाई फिर्ता गराएको छ । वडा नम्बर १ र २ मा एमालेका उम्मेदवार छैनन् ।

थवाङ गाउँपालिकामा अध्यक्षका स्वतन्त्र उम्मेदवार अमित घर्ती । उनी नेकपाका कार्यकर्ता समेत हुन् ।

 गाउँपालिका अध्यक्ष पदमा स्वतन्त्र उम्मेदवार अमित घर्ती ’राजनीतिमा भ्रष्ट र दलालहरूले हालिमुहाली गरेको’ भन्दै ’व्यवस्थाभित्रैबाट त्यसको भण्डाफोर गर्न’ उम्मेदवार बनेको बताउँछन् । स्वतन्त्र टीमका सबैले आफूले पाउने तलबभत्ता कोषमा राखी प्रकोप व्यवस्थापनमा खर्च गर्ने उनको योजना छ ।

उपाध्यक्षकी उम्मेदवार कांग्रेसकी श्रीकुमारी रोकाले नेकपामा आबद्ध रहेर पनि स्वतन्त्र उठेका उम्मेदवारहरूसँग तालमेल गरेको बताइन् । नेपाली कांग्रेसका जिल्ला सभापति अमरसिंह पुनले पनि नेकपाका नेता कार्यकर्तासँगको लामो छलफलपछि तालमेल सम्भव भएको बताए ।

डुकुमान रोका र हिक्मत घर्ती मगर

उपाध्यक्ष उम्मेदवार रोकाका बुवा रामजी घर्तीलाई कांग्रेसको क्रियाशील सदस्य भएकै बखत २०५३ सालमा तत्कालीन माओवादी कार्यकर्ताले हत्या गरेका थिए । त्यसपछि सदरमुकाम लिवाङ आई कांग्रेस राजनीति शुरु गरेकी रोका तरुण दल, महिला संघहुँदै अहिले कांग्रेसको जिल्ला समितिमा छिन् । २०६४ को चुनावमा कांग्रेसको समानुपातिक सभासद्को सूचीमा रहेर पनि नछानिएकी उनी अहिले चुनाव जितेरै जनप्रतिनिधि हुने बताउँछिन् ।

नेपाल कम्युनिष्ट पार्टीमा आबद्ध कार्यकर्ता थवाङमा मात्रै होइन रोल्पाका अन्य दुई गाउँपालिकामा पनि वडा अध्यक्षको प्रतिस्पर्धामा छन् । माडी गाउँपालिका–५ मा नेपाली कांग्रेसको समेत समर्थनमा विष्णुकुमार घर्ती अध्यक्षमा स्वतन्त्र उम्मेदवार बनेका छन् भने सुनछहरी गाउँपालिका–७ मा वडा अध्यक्षका उम्मेदवार हस्तबहादुर बुढामगर पनि नेकपा आबद्ध हुन् ।

 

प्रतिकृया दिनुहोस