दमकमा नेताहरुको ओइरो
मतदानको मिति नजिकिँदै गर्दा पश्चिम झापाको दमक नगरमा दलका ‘हेभिवेट’ नेताहरुको ओइरो लागेको छ ।
चार दिनको धपेडी सिध्याएर एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी ओली राजधानी फर्किएको दुईदिन पछि पूर्व प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल चुनावी सभालाई सम्बोधन गर्न दमक आँउदैछन् ।
उनले १० असार अपराह्न ३ बजे दमकको राजमार्ग चोकमा चुनावी सभालाई सम्बोधन गर्दैछन् ।
गएको ५—८ असारमा ओलीले झापाको दमक नगरमा मात्र साना—ठुला ६ वटा सभालाई सम्बोधन गरेका थिए । कतिपय ठाँउमा उनले कार्यकर्ताहरुसँग अन्तरक्रिया समेत गरेका थिए ।
झापाबाट चुनावी कार्यक्रममा भाग लिएर ८ असारमा राजधानी फर्किएका एमाले अध्यक्ष ओली पनि १० असार दिँउसो दमकबाट ६ किलोमिटर मात्र पश्चिम मोरङको उर्लाबारी नगरपालिकामा दुईवटा चुनावी सभालाई सम्बोधन गर्न आँउदैछन् ।
दमकमा १० असारमा मोवादी अध्यक्ष दाहालले सम्बोधन गर्ने सभा आयोजना स्थलभन्दा करिव एकसय मिटर पूर्व १० असार मध्याह्न १२ बजे कांग्रेसले चुनावी सभा गर्न लागेको छ ।
कांग्रेसको चुनावी सभालाई सम्बोधन गर्न नेता कृष्ण सिटौला, गगन थापा, गुरु घिमिरे लगायत आउँदैछन् ।
पहिलो चरणको निर्वाचनमा चितवनको भरतपुर उपमहानगरलाई यसैगरि दलहरुले उच्च प्राथमिकता दिएका थिए ।
४६ हजार ५२३ मतदाता रहेको दमक नगरमा १० वटा वडा छन् । २०४९ र २०५४ सालका निर्वाचनमा एमालेले दमक नगरका मेयर, उपमेयर सहित सुविधाजनक बहुमत हासिल गरेको थियो ।
यसपाली दमकको मेयर पदमा एमालेले २०५४ सालमा मेयर बनेका रोमनाथ ओलीलाई उठाएको छ । उनीसँग कांग्रेसका ढुण्डीराज भण्डारी, माओवादी केन्द्रका गगन पुरी र राप्रपाका राम थापा प्रतिस्पर्धामा छन् ।
एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी ओलीको गृहनगर भएकोले पनि दोस्रो चरणको निर्वाचनमा दमकलाई महत्वका साथ हेरिएको छ ।
यो नगर भएको निर्वाचन क्षेत्रबाट ओली २०४८, २०५१ र २०५६का संसदीय निर्वाचन र २०७० को संविधानसभा निर्वाचनमा विजयी भएका थिए ।
२०५६मा झापाका दुईवटा क्षेत्रबाट निर्वाचित ओलीले झापा ६ बाट राजीनामा दिएपछि भएको उप निर्वाचनमा कांग्रेसका डा. गोपाल प्रसाद कोइराला यहाँबाट निर्वाचित भएका थिए ।
२०६४ सालको संविधानसभा निर्वाचनमा भने यो क्षेत्रबाट माओवादीका विश्वदिप लिङदेन निर्वाचित भएका थिए ।
गोपाल गडतौला, झापा