नृप आफैँले तपाईँहरुलाई नमस्कार गर्छ, उसलाई भोट दिनुस: प्रधानमन्त्री देउवा
स्थानीय तह निर्वाचनको प्रचारका लागि धनगढी आइपुगेका प्रधानमन्त्री शेरबहादुर देउवाले जनप्रतिनिधि चयन गर्दा जातीय दृष्टिकोण नराख्न आग्रह गरेका छन् ।
९ असारमा धनगढी उपमहानगरपालिकाको क्याम्पस चोकमा आयोजित नेपाली कांग्रेसको चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री एवं कांग्रेस सभापति देउवाले मेयरका उम्मेदवार नृप वडलाई मत दिएर सकारात्मक सन्देश दिन धनगढीबासीसँग आग्रह गरे । केही अघि दलित समुदायका वड प्रमुखमा निर्वाचित भएपछि 'दलितलाई नमस्कार गर्नु पर्ने' भन्दै विरोध भएको समाचार प्रकाशित भएको थियो ।
त्यही सन्दर्भ दोहोर्याउँदै प्रधानमन्त्रीले भने, "तपाईले नृपलाई नमस्कार गर्नु पर्दैन, ऊ आफैँ घर घरमा पुगेर सबैलाई नमस्कार गर्छ । तर यो उपमहानगरपालिकाको विकासका लागि नृपलाई भोट दिनुस र देशभर सकारात्मक सन्देश पुर्याउनुहोस् ।"
उम्मेदवार वड पहिलेदेखि नै नगरवासीको सेवामा रहेकाले उनलाई आफ्नो गुनासो सुनाउन सहज हुने भन्दै देउवाले थपे, "नृपलाई यस्तो गर, उस्तो गर भन्न सक्नुहुन्छ, अरूलाई सक्नुहुन्न । सहज मान्छेलाई भोट दिनुस् ।"
प्रधानमन्त्री देउवाले आजै धनगढीको फूलबारी, अत्तरियामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै संविधान कार्यान्वयनका लागि चुनाव सफलतापूर्वक सम्पन्न गर्न आवश्यक रहेको बताए । उनले सबैलाई शान्तिपूर्वक चुनावमा सहभागिता जनाउन आग्रह समेत गरे ।
७ नं. प्रदेशको एकमात्रै उपमहानगरपालिका धनगढीमा कांग्रेसबाट नृप वड र सुशीला भट्ट, नेकपा एमालेबाट दुर्गादत्त जोशी र रूक्मिणी देवकोटा, नेकपा माओवादी केन्द्रबाट रामसमझ राना र शान्ति अधिकारी मेयर र उपमेयरका उम्मेदवार छन भने स्वतन्त्र रूपमा व्यवसायी गोपाल हमाल पनि प्रतिस्पर्धामा छन् ।