निर्वाचन भयरहित र सद्भावपूर्ण बनाउन धर्मगुरुद्वारा अपिल
१४ असारमा हुने स्थानीय तहको दोस्रो चरणको निर्वाचनलाई शान्तिपूर्ण भयरहित र सद्भावपूर्ण बनाउन बाँकेमा धार्मिक गुरुहरुले सार्वजनिक अपिल गरेका छन् ।
हिन्दू धर्मका गुरु चन्द्रनाथ योगी, मुस्लिम धर्मगुरु मौलाना अब्दुल जब्बार मञ्जरी, सिख्ख धर्म गुरु दलजित सिंह, बौद्ध धर्म गुरु गुनबहादुर लामा र क्रिश्चियन धर्म गुरु बेञ्जामिन श्रेष्ठले २० वर्षपछि हुन लागेको स्थानीय तहको निर्वाचन शान्तिपूर्ण, भयरहित, निष्पक्ष र सद्भावपूर्ण तरिकाले सफल बनाउने सामूहिक प्रतिबद्धता गर्दै अपिल जारी गरेका हुन् ।
उनीहरुले मुस्लिम धर्मावलम्बीको महान् चाड इदुल फित्रको अवसरमा एकआपसमा शुभकामना व्यक्त गर्दै सद्भावको वातावरण तयार गरी आ—आफ्ना धार्मिकस्थलबाट सामाजिक सद्भावको सन्देश फैलाउने समेत लिखित प्रतिबद्धता जनाएका छन् ।
सूचना र मानव अधिकार अनुसन्धान केन्द्र नेपालगन्जद्वारा बिहीबार आयोजित एक कार्यक्रममा उनीहरुले सार्वजनिक अपिल एवम् प्रतिवद्धता जनाएका हुन् ।
स्थानीय तहको निर्वाचन र मुस्लिम धर्मावलम्बीको महान् चाड इदुल फित्र सँगसँगै परेको हुनाले सामाजिक सद्भावको विषय प्रमुख बनेको हो ।
रासस