पर्सामा विकास बजेट खर्च भएन, ठूलो रकम फ्रिज हुने
चालु आर्थिक वर्ष सकिन २३ दिन बाँकी छँदा पर्सा जिल्लामा विकास बजेटको झण्डै ५८ प्रतिशत रकम खर्च हुन बाँकी रहेको छ ।
आर्थिक वर्ष २०७३/०७४ को अन्तिम महिना असारको पहिलो साता विति सक्दा पनि पर्सा जिल्लामा पूँजिगत बजेटतर्फ जम्मा ४२.४२ प्रतिशतमात्रै खर्च भएको कोष तथा लेखा नियन्त्रक कार्यालय पर्साका प्रवक्ता नारायणलाल श्रेष्ठले जानकारी दिए ।
उनले भने, “यस जिल्लाका लागि आएको कुल बजेटमध्ये पूँजिगत बजेटतर्फको रु २ अर्ब ३३ करोड ७७ लाख ९५ हजार खर्च हुन सकेको छैन ।
त्यसैगरी चालुतर्फ रु ८४ करोड ९३ लाख ५१ हजार खर्च हुन बाँकी छ ।
यस आर्थिक वर्षका लागि चालु र पूँजीगत गरी रु कुल ९ अर्ब ९६ करोड ४८ लाख ७३ हजार पर्साका लागि विनियोजन भएको थियो । जसमध्ये चालु र पूँजीगत दुबैतर्फको खर्च गरी रु ३ अर्ब १८ करोड ७१ लाख ४७ हजार अझै खर्च हुन बाँकी रहेको श्रेष्ठले बताए ।
जिल्लामापूँजिगततर्फ ४ अर्ब ६ करोड ३ लाख ४५ हजार रुपैयाँ बजेट विनियोजन भएकोमा असारको पहिलो सातासम्ममा ४२.४२ प्रतिशतअर्थात १ अर्ब ७२ करोड २५ लाख ४९ हजार रुपैयाँमात्रै निकासा भएको हो ।
गत आर्थिक वर्षमा मात्रै पूँजीगततर्फको विकास बजेट खर्च हुन नसक्दा ३१.०६ प्रतिशत अर्थात झण्डै रु ८५ करोड ७८ लाख ४४ हजार ‘फ्रिज’ भएको थियो । तर यसवर्ष भने यो संख्या लगभग दोब्बरले बढ्ने तथ्याङ्कले देखाउँछ ।
पर्सा जिल्लामा बसैभन्दा बढी शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालयको बजेट खर्च हुन सकेको छैन् । रु १ अर्ब ९२ करोड १५ लाख ११ हजार विनियोजन भएकोमा हालसम्म रु १९ करोड १४ लाख ३७ हजारमात्रै खर्च भएको छ ।
यस सन्दर्भमा डिभिजन प्रमुख सरोज कुमार गोईतले सरकार परिवर्तनसँगै विभागीय प्रमुखको अदलाबदलीले विकासे बजेटको रकम खर्च हुन नसकेको बताए ।
उनले सरकारले तयारी विनाको बजेट पठाएकाले पनि खर्च हुन नसकेको दाबी गरे ।
सरकारले यसै वर्षदेखि लागू गरेको जनता आवास कार्यक्रम र वीरगंज महानगरपालिकाभित्र भवन निर्माण लगायतका कामका लागि ठूलो रकम विनियोजन गरेको थियो । तर उक्त शीर्षक अन्तर्गत हालसम्म कुनै पनि काम शुरु भएको छैन ।
तराईको लाईफ लाईनको रुपमा चिनिने हुलाकी सडक परियोजनाका लागि पूँजीगततर्फ रु २० करोड ४६ लाख ७५ हजार विनियोजन गरिएकोमा हालसम्म १८.४९ प्रतिशत अथार्त रु ३ करोड ७८ लाख ९ हजार मात्रै खर्च भएको छ ।
यसैगरी नारायणी सिँचाई व्यवस्थापन डिभिजन नं. ५ कार्यालयका लागि रु २६ करोड ७८ लाख ९९ हजार विनियोजन भएकोमा हालसम्म ६१.०३ प्रतिशतमात्रै खर्च भएको छ ।
पूँजीगत बाहेकका चालु बजेटका लागि समेत पर्सा जिल्लामा थुप्रै कार्यालयहरुले आफ्ना योजनाहरुलाई तिब्रता दिएका छैनन् ।
चालु तर्फ जिल्ला शिक्षा कार्यालयको रु २२ करोड १७ लाख ८३ हजार, जिल्ला समन्वय समिति कार्यालयको रु १६ करोड ४८ लाख ३३ हजार, यसैगरी जिल्ला कृषिविकास कार्यालयको रु ५ करोड ३५ लाख ८३ हजार, जिल्ला जनस्वास्थ्य कार्यालयको रु ४ करोड ६ लाख ४६ हजार, पर्सा बन्यजन्तु आरक्ष कार्यालयको रु ३ करोड ८१ लाख ८ हजार, नरायणी उप–क्षेत्रिय अस्पतालको रु ३ करोड १६ लाख १६ हजार, जिल्ला वन कार्यालयको रु २ करोड ७ लाख ३ हजार, जिल्ला पशु सेवा कार्यालयको रु १ करोड ३९ लाख११ हजार र शहरी विकास तथाभवननिर्माण डिभिजन कार्यालयको १ करोड ३३ लाख ४३ हजार रुपैया खर्च हुन बाँकी रहेको कोष तथा लेखा नियन्त्रक कार्यालयले जनाएको छ ।
सरकारले यस आर्थिक वर्षमा विकासे बजेट ८० प्रतिशत सम्म खर्च गर्ने योजना बनाए पनि तराईका जिल्लाहरुमा कार्यान्वयन हुन सकेको छैन ।
जियालाल साह, वीरगञ्ज