प्रहरी र राजपा कार्यकर्ता झडप, पाँचजना घाइते
नवलपरासीमा एमालेको निर्वाचन प्रचार सामाग्री जलाउन खोज्ने राष्ट्रिय जनता पार्टी (राजपा) का कार्यकर्ता र प्रहरीबीच झडप हुँदा पाँचजना घाइते भएका छन् ।
घाइते हुनेमा चारजना राजपाका कार्यकर्ता र एकजना प्रहरी सहायक निरीक्षक रहेका छन् । झडपका बेला राजपाले सदरमुकाम परासीमा आज आयोजना गरेको विरोध सभालाई राजपाका संयोजक महन्थ ठाकुरले सम्बोधन गरिरहेका थिए ।
झडपका क्रममा प्रहरीले केही राउन्ड रबर गोली र दर्जनौँ अश्रुग्यास प्रहार गरेको थियो । प्रहरीले चलाएको रबरको गोली लागि राजपाका कार्यकर्ता जमुनियाका ५० वर्षीय नर्सिह चौधरी, गेरमीका २७ वर्षीय सुरेश गुप्ता र नर्सहीका ४० वर्षीय भगवन्त गुप्ता घाइते भएका छन् ।
यसैगरी प्रहरीको झडपमा परी नवलपरासी क्षेत्र नं– ६ का रामेश्वर कुशवाह घाइते भएको राजपाका स्थानीय नेता मुकुर्जी गिरीले जानकारी दिए । घाइतेको परासी अस्पतालमा उपचार भइरहेको छ ।
सभा चल्दै गर्दा सभास्थल नजिकै रहेको मध्यनेपाल यातायात व्यवसायी समितिको काउन्टरमा राखिएको नेकपा एमालेको प्रचार सामाग्री (टिसर्टको पोको) लाई राजपाका कार्यकर्ताले जलाउने क्रममा प्रहरी र कार्यकर्ताबीच झडप भएको थियो ।
प्रहरीले राजपाका कार्यकर्ता देवगाउँका हैदर अलि मोमिन र राजेन्द्र तिवारीलाई पक्राउ गरेको छ ।
सभालाई राजपाका संयोजक मण्डलका सदस्य राजेन्द्र महतो, अनिलकुमार झा, राजकिशोर यादव, वरिष्ठ नेता हृदयश त्रिपाठीलगायतले सम्बोधन गरेका थिए ।
झडपपछि राजपाका शीर्ष नेतालाई सुरक्षाकर्मीले परासीकै एक होटेलमा सुरक्षित पुर्याएको थियो ।
रासस