विराटनगरमा एमाले र लोकतान्त्रिक फोरमबीच चुनावी तालमेल
नेकपा एमाले र विजयकुमार गच्छदार नेतृत्वको नेपाल लोकतान्त्रिक फोरमबीच विराटनगर महानगरपालिकाको निर्वाचनमा प्रमुख र उपप्रमुख पदका लागि चुनावी तालमेल भएको छ ।
एमालेबाट प्रमुख पदका उम्मेदवार विनोद ढकाललाई लोकतान्त्रिक फोरमले सघाउने छ भने उपप्रमुखमा फोरमलाई एमालेले सघाउने सहमति भएको लोकतान्त्रिक फोरम नेपालका जिल्ला अध्यक्ष भक्तिनाथ माझीले जानकारी दिए ।
यसबाहेक, वडामा भने दुबै दलबीच कुनै तालमेल भएको छैन । लोकतान्त्रिक फोरमले उपप्रमुख पदको उम्मेदवारको आजै टुङ्गो लगाउने छ ।
यसैगरी नेपाली कांग्रेसबाट विराटनगर महानगरपालिकाका प्रमुख पदका उम्मेदवार भीम पराजुलीले सञ्चारक्षेत्रको विकासमा सकारात्मक भूमिका खेल्ने बताएका छन् ।
नेपाल प्रेस युनियन मोरङसँग भएको अन्तर संवाद कार्यक्रममा आज पराजुलीले १– नं प्रदेशको सम्भावित राजधानीको रुपमा रहेको विराटनगरमा सञ्चारक्षेत्रको विकासमा आफूले सहयोग गर्ने बताए ।
उनले विराटनगर औद्योगिक नगर भएकोले उद्योग, कलकारखाना र औद्योगिक विकासमा कांग्रेसले समन्वयकारी भूमिका निर्वाह गर्ने बताए ।
उपप्रमुखकी उम्मेदवार इन्दु कार्कीले महिला हकहित र अधिकार संरक्षण आफ्नो पहिलो प्राथमिकता हुने बताइन् । रासस