महानगरकै ७८ प्रतिशत घरधनीले तिर्दैनन् बहाल कर
काठमाडौँ महानगरपालिकाका २२ प्रतिशत घरधनीले मात्र घरबहाल कर तिर्ने गरेका छन् ।
कामपा, राजस्व महाशाखा प्रमुख ध्रुव काफ्लेका अनुसार घरबहाल कर लिनका लागि ठोस किसिमको कानुन नहुँदा कामपामा ७८ प्रतिशत घरधनीले कर तिर्ने गरेका छैनन् ।
पछिल्लो समय कामपामा घर भएका व्यक्ति विदेश जानका लागि घर बहाल कर, बत्ती, पानी र अन्य महानगरबाट लिइने सुविधाको पनि कर चुक्ता गर्नुपर्ने भएकाले घर बहाल कर सङ्कलनमा केही वृद्धि भएको प्रमुख काफ्लेको ठम्याइ छ ।
घरधनीले भाडामा लिएर उठेको रकमको दुई प्रतिशत कामपामा राजस्व बुझाउनुपर्छ । अहिले वार्षिक रु १२ करोडसम्म यस शीर्षकमा कर उठ्ने गरेको छ ।
नियमको अभाव र जनशक्तिको कमीजस्ता कारण देखाउने कामपाले कर सङ्कलन लागि यति ठूलो सम्भावना बोकेको शीर्षकमा पनि अपेक्षानुरुप कर सङ्कलन गर्न सकेको छैन । रासस