टिप्पणीशुक्रवार, भाद्र १७, २०७३

जनकपुरको परिचय हराउने चिन्ता

मनिष झा

जनकपुरलाई देशको सबभन्दा ठूलो मन्दिर, सबभन्दा धेरै कर तिर्ने कारखाना र राष्ट्रको एक मात्र रेल सेवा भएको शहरको रूपमा सम्झिनेहरूको मनमा यो परिचय बदलिने चिन्ता गहिरिएको छ।

मुलुकको राजनीतिक परिवर्तनमा सधैं अग्रणी भूमिका खेल्न र राष्ट्रलाई सबल राजनीतिज्ञहरू दिन सफल जनकपुर अहिले आफ्नो सामाजिक अस्तित्व जोगाउने संघर्षमा छ। मधेशको सबभन्दा ठूलो कमजोरी नै के भयो भने, यो क्षेत्रले राजनीतिक परिवर्तनको लागि त सधैं अग्रसर भएर योगदान दियो, तर त्योसँगै आवश्यक सामाजिक परिवर्तन गर्न जानेन वा यहाँका अग्रजहरूले त्यो प्राथमिकता भुलिदिए। 

विश्वव्यापी पर्यटकहरूको अनुभव समेट्ने 'टि्रप एड्भाइजर' मा एकजनाले नेपालको एक्लो रेलवेलाई 'अ डेड रेल स्टेसन' भन्दै लेखेका छन्– 'त्यहाँ हेर्ने केही पनि छैन, तसर्थ जान बेकार छ।' विदेशी मात्र हैन, जनकपुर पुग्ने आन्तरिक पर्यटकहरूले पनि त्यही अनुभव गर्छन्, आजकल।

भारतमा राज गर्दै गरेका ब्रिटिशहरूले सन् १९२७ मा भारतको जयनगरदेखि जनकपुरहुँदै महोत्तरी जिल्लाको बिजलपुरासम्म ३९ किलोमिटर लामो रेल्वे स्थापना गरेका थिए। ब्रिटिशहरूले बिहारतिर रेल्वे विस्तार गर्ने क्रममा लिकमा ओछ्याउन आवश्यक काठ नेपालबाट ओसार्नको लागि राणाहरूसँग कुरा मिलाएर बनाएको त्यो रेल मार्गलाई भारत स्वतन्त्र हुँदाहुँदै सहयोग गरेर नेपाल–भारत रेलमार्ग बनाएको बुझिन्छ।

स्थापनाको इतिहास र त्योभित्रको स्वार्थ जे जस्तो भए पनि रेलवेले धनुषा, महोत्तरी र सिरहावासीलाई निकै सहयोग पुग्यो। नेपालको बजार व्यवस्थित नभइसकेको बेला त्यसले मध्य तराईलाई दक्षिणको ठूलो बजारसँग जोड्यो। जनकपुरलाई शिक्षाको केन्द्र बनायो र अञ्चलकै समृद्धि बढायो। जनकपुर रेल आफैंमा पर्यटकीय आकर्षण थियो। राष्ट्रकै एक्लो रेल सेवा भनेर जनकपुर घुम्न आउने नेपाली धेरै थिए। तर, अब न त्यो रेल छ न छ कुनै रौनक।

सरकारले जनकपुर रेल सेवालाई नेपाल रेल बनाउँदा नाम परिवर्तनसँगै ठूलो उत्साह छाएको थियो, अब झ्न् ठूलो हुन्छ भन्ने भएको थियो। तर, सत्ता परिवर्तनसँगै 'नेपाल रेल' का कर्मचारी संगठनहरूले आफ्नो लाभ मात्र हेर्न थालेपछि रेलको अस्तित्व नै गुम्यो। अब फेरि नेपाल रेल ठूलो रूप लिएर फर्किने सम्भावना केवल सम्भावनामा सीमित छ।

जनकपुरको अर्को परिचय जानकी मन्दिर हो। हिन्दूहरूको आस्थाको धरोहर यो मन्दिर नेपालको प्रमुख पर्यटन गन्तव्यमध्येको पनि एक हो। अहिले जति पर्यटक जनकपुर आइरहेका छन्, ती जानकी मन्दिरकै कारण आइरहेका छन् भन्दा फरक नपर्ला। त्यसो त, मिथिला संस्कृतिको केन्द्र जनकपुर यो मन्दिर निर्माणभन्दा अगाडिबाटै आस्थाको केन्द्र थियो। निसन्तान हुनुको पीडामा रहेका टिकमगढका राजारानीले जनकपुर आउँदा आफ्नो कामना पूरा भएकोले जानकी मन्दिर निर्माण गरेको इतिहास छ।

मिथिलाञ्चलका राजा जनकले यही भूमिमा पुत्रीको रूपमा सीता माता पाएका थिए। सवा सय वर्ष अगाडि सन्तानको खोजीमा यही भूमिमा आइपुगिन्, टिकमगढकी महारानी पनि। उनको इच्छा पनि पूरा भयो र सानो मन्दिरको ठाउँमा नौ लाख खर्चेर भव्य मन्दिर बनाइन्, जुन आज पनि जनकपुरको आस्था, शान र वैभवको रूपमा हाम्रो सामुन्ने साबूत छ।

जनकपुरको अस्तित्व बनेको त्यो मन्दिरलाई विश्व सम्पदा सूचीमा पार्न सरकारले पहल गरिदिएन भन्ने गुनासो जनकपुरवासीको छ। मन्दिरमा आवद्धहरू भने यसको भौतिक सम्पत्ति हडप्नमै व्यस्त छन्। धार्मिकस्थलमा हुने लूटमा राजनीतिक–प्रशासनिक मिलेमतो रहने हुँदा स्थानीयवासीले विरोध गर्न सक्दैनन्, गरे पनि उनीहरूको आवाजलाई हावाले सजिलै उडाएर लैजान्छ।

अब कुरा गरौं जनकपुरको अस्तित्वको तेस्रो पाटो, जनकपुर चुरोट कारखाना लिमिटेड (जचुकालि)को। कुनै समय राष्ट्रलाई सबभन्दा धेरै कर, यो क्षेत्रलाई सबभन्दा धेरै रोजगारी र खेलकुद क्षेत्रलाई सबभन्दा धेरै खेलाडी दिने संस्थाको रूपमा चिनिन्थ्यो जनकपुर चुरोट कारखाना। तर, राजनीतिक परिवर्तनसँगै यो धरासायी हुन पुग्यो। आफ्नो एउटा हात काटेर अर्को हात बलियो बनाउने पहलमानको जस्तै हालत भयो, जनकपुर चुरोट कारखानाको पनि।

जानकारहरूका अनुसार, दरबारको लगानी रहेको सूर्य नेपाललाई चम्काउन जनकपुर चुरोट कारखानालाई कमजोर बनाउने नीतिले यो हविगतको थालनी गर्‍यो। प्रजातन्त्र पुनःस्थापनापछिका शासकहरूले नियत पनि त्योभन्दा गतिलो भएन। आफ्नो र आफ्ना कार्यकर्ताको व्यक्तिगत लाभलाई मात्र महत्व दिने नियतले जचुकालिलाई आज कवाडीको रूपमा बिक्री हुन तयार पारेको छ।

हरेक स्थानको अस्तित्व त्यहाँको संस्कृति र पूर्वाधारबाट बनेको हुन्छ, जनकपुरको पनि त्यस्तै हो। तर, जनकपुरको विकास र सम्बर्द्धन गर्न न स्थानीय अगुवाहरूले जाने न त राज्यले चाह्यो। आफ्नो अस्तित्वको रक्षा आफैं गर्न छाडिएको परित्यक्त जनकपुर अब कता लाग्ला?

प्रतिकृया दिनुहोस