शरणार्थी विद्यार्थी अब सामुदायिक विद्यालयमा
भुटानी शरणार्थी विद्यार्थीहरुलाई शिविर बाहिरका नेपाली सामुदायिक विद्यालयमा पढाउन थालिएको छ ।
चालु शैक्षिक सत्रदेखि पहिलोपटक कक्षा ९ का १०२ जना शरणार्थी विद्यार्थी शिविर बाहिरका स्कुलमा पढन थालेका छन् । शिविरमा रहेका विद्यालयमा कक्षा संख्या घटाउन थालिएपछि उनीहरुले विकल्प खोज्नु परेको हो ।
तीमध्ये ७६ जना उत्तरी दमकको ढुकुरपानी उमावि, ४ जना पूर्वी मोरङको पथरी शनिश्चरेस्थित पञ्चायत उमाविमा र २६ जना झापा र मोरङका निजी विद्यालयमा आफुखुशी जान थालेका छन् ।
सामुदायिक स्कुलमा भर्ना भएका शरणार्थी विद्यार्थीलाई भने सहायता संस्था कारितासले शैक्षिक सामग्री प्रदान गरेको छ भने निजीमा जानेहरुले खर्च आफैं ब्यहोर्ने गरेका छन् ।
आउँदो शैक्षिक सत्रदेखि शिविरबाट दशौं कक्षा समेत हटाइने कारितासले बताएको छ ।
यद्यपि संयुक्त राष्ट्रसंघीय शरणार्थी सम्बन्धी उच्च आयोगको सहकर्मी संस्थाको रुपमा कार्यरत कारितासले यसबारे औपचारिक रुपमा केही बताएको छैन ।
नेपालले शरणार्थी सम्बन्धी अन्तराष्ट्रिय महासन्धीमा हस्ताक्षर नगरेको अवस्थामा शरणार्थीलाई नेपालको सरकारी वा सामुदायिक सेवा दिने प्रावधान नभए पनि मानवीय हिसाबले शरणार्थी बालबालिकाको पहिचान खुलाएर भर्ना गरिएको ढुकुरपानी उमाविका प्राचार्य लिला खनालले बताए ।
सन् १९९५ देखि भुटानी शरणार्थी शिविरमा कारितासले स्कुल सञ्चालन गरेको हो । कुनै समय ३९ हजारभन्दा धेरै विद्यार्थी रहेका शिविरका स्कुलमा हाल दुईहजार १७९ जना विद्यार्थी पढिरहेका छन् ।
शिविरका हाल चालु ६ वटा स्कुलहरुमा १०५ जना शिक्षक कार्यरत छन् ।
केही वर्ष अघिसम्म पाँच ठाँउमा रहेका सातवटा शिविर शरणार्थी पुनर्वास भएका कारण घटेर दुईवटामा सिमित छन् । तिनमा अब करिब ९ हजार भुटानी शरणार्थी रहेका छन् ।
वितेको ८ वर्षमा एकलाख ८ हजार भुटानी पुनर्वासमा युरोप, अमेरिका, क्यानाडा, अष्ट्रेलिया गइसकेका छन् ।
गोपाल गडतौला, झापा