टिप्पणीबुधवार, जेठ ३१, २०७४

रानीपोखरीमा मनपरी

वसन्त महर्जन

काठमाडौं रानीपोखरी सम्पदाहरू कसरी जोगिन्छ भन्दा पनि कसरी मासिंदो रहेछ भनेर बुझाउने थलो बन्न पुगेको छ ।

तस्वीरः गोपेन राई

काठमाडौंमा अस्वाभाविक कुरा देखियो कि एउटा उखान चल्तीमा आइहाल्छ– 'कहीं नभएको जात्रा हाँडीगाउँमा'। अहिले ऐतिहासिक रानीपोखरीमा भइरहेको पुनःनिर्माणको काम हेर्दा चाहिं '...हाँडीगाउँमा नभएको जात्रा रानीपोखरीमा' भन्न कर लाग्छ। १२ वैशाख २०७२ को महाभूकम्पले रानीपोखरीको मध्यभागमा रहेको बालगोपालेश्वर मन्दिर पनि भत्काइदिएको थियो । 

परम्परागत नेपाली वास्तु विज्ञानअनुसार कुनै पनि निर्माणमा फलामे छड र सिमेन्ट प्रयोग गरिंदैन। तर, रानीपोखरीको पुनःनिर्माणमा विपरीत काम भएकोमा व्यापक विरोध भएपछि पुनःनिर्माण रोकिएको छ। व्यापारिक प्रयोजनमा लगाउने हिसाबले पूरै रानीपोखरीको जिम्मा लिएको काठमाडौं महानगरपालिकाले मन्दिर पुनःनिर्माणमा जात्रा देखाएपछि अब त्यो काम पुरातत्व विभागले गर्ने भएको छ । यसबाट दुईवटा अर्थ लाग्छ– पहिलो, महानगरपालिकासँग पुरातत्व विषयमा काम गर्ने ल्याकत छैन र दोस्रो, रानीपोखरीको बीचमा रहेको मन्दिर मात्र पुरातात्विक महत्वको छ। यी दुवै निकै कमसल किसिमका बुझाइ हुन् ।

रानीपोखरीलाई राजा प्रताप मल्लको कीर्ति मानिन्छ। कान्तिपुर शहरको प्रमुख प्रवेशद्वारमा अवस्थित यो पोखरीलाई शुरूमा 'न्हू पुखू' (नयाँ पोखरी) भनिए पनि पछि रानीपोखरीको नामले प्रसिद्ध भयो। त्यहाँ पहिल्यैबाट पोखरी भएकोमा प्रताप मल्लको राज्यकालमा व्यापक सुधारबाट नयाँ रूप दिइएको एउटा अनुमान छ। राजा प्रताप मल्ल अन्यत्रका कलाकृतिहरू पनि लुटेर वा उठाई ल्याएर भए पनि आफ्नो कान्तिपुरलाई सिंगार्ने प्रवृत्तिका राजा मानिन्छन् ।

पोखरीहरूसहितको व्यवस्थित कान्तिपुर शहर पहिल्यै विकास भइसकेको देखिए पनि पोखरीबीचमा मन्दिर बनाउने गरेको पाइँदैन। मुख धुने पोखरी (खेचापोखरी) अहिले खिचापोखरी भएको छ भने अन्य पुराना पोखरीहरू ऐतिहासिक स्रोतसामग्री र रैथानेहरूको सम्झनामा सीमित छन्। काठमाडौंको प्रमुख आकर्षणको रूपमा रहेको रानीपोखरीले पनि अब ऐतिहासिकता कायम राख्ला या नराख्ला भन्ने प्रश्न उठेको छ ।

रानीपोखरीको मध्यभागमा रहेको मन्दिरलाई मात्र पुरातात्विक महत्वको स्थलको रूपमा हेरिनु पूरै रानीपोखरीको अस्तित्वमाथि धावा बोल्नु हो । गलत तरिकाबाट भएको कामको विरोध हुँदा मन्दिर पुनःनिर्माण रोकिएको छ भने त्यस वरिपरिका संरचनाहरू भने सिमेन्ट, बालुवा र कंक्रिटबाटै धमाधम निर्माण हुँदैछन्। किनारमा 'सजिलो र टिकाउका लागि' सिमेन्ट र कंक्रिटको प्रयोग भइरहेको छ। पानी सुक्न नदिने भन्दै पोखरीलाई पनि स्वीमिङ पुलको स्वरुप दिन खोजिएको छ ।

ऐतिहासिक संरचनाहरूलाई हेर्ने दृष्टिकोण नमिल्दा तिनको मौलिक पुनःनिर्माणमा आँच आउँछ। कुनैबेला मुख्य शहर बाहिर रहेको रानीपोखरी अहिले शहरको केन्द्रमा छ। रानीपोखरीमा पानी आपूर्ति गर्ने बाहिरी स्रोत र निकास अहिले देखिंदैन, तर सामान्यतः आकाशे पानीमा मात्र भर पर्ने गरी पोखरीहरू बनाइँदैन। रानीपोखरीभित्र इनारहरू पानीको प्रमुख स्रोत रहेको बुझिन्छ। रानीपोखरीको सम्बन्धमा देवमाला वंशावलीमा बीचको देवलबाट पूर्वतिर एउटा इनार देखिएको, त्यसमाथि ढुंगाको ठूलो चापटले छोपिएको र त्यसबाट निस्कने पानीले पोखरी भरिएको उल्लेख छ ।

सुनिएको कुरालाई लिपिबद्ध गरिएको यो वंशावली १९९० सालपछिको हो। काठमाडौंको नेवार समाजमा मनाइने सांस्कृतिक पर्व 'सिथि नखः' ढुंगेधारा, इनार, पोखरीलगायतका पानीका स्रोतहरूको सरसफाइसँग सम्बन्धित छ रानीपोखरी सफा गर्नु आश्चर्यको कुरा होइन। सरसफाइको अभावमा रानीपोखरीभित्रको इनार माटो र हिलोले छोपिएको बुझ्न सकिन्छ। त्यहींभित्र इनार बाहेक पानीको मूल हुनु पनि संभव छ। तर, रेखदेखको अभावमा पछिल्ला दिनहरूमा पोखरीको पानीका स्रोतहरू सुक्न पुगे। अहिले पोखरीभित्र डोजर चलाएर हिलो माटो झिकिंदैछ, तर इनारलगायतका संरचनाबारे होश पुर्‍याइएको बुझिंदैन। पहिले बलियोसँग उठाइएको ईंटाको गारो मासेर अहिले 'सिमेन्टेड वाल' उठाइँदैछ। पोखरीको भुईंमा प्लास्टर गर्ने भएपछि पानीका पुराना स्रोतहरूको खोजी सदाका लागि समाप्त पारिंदैछ ।

काठमाडौं महानगरपालिकाले रानीपोखरीलाई बीचमा मन्दिर भएको पोखरीको रूपमा मात्र बुझेको र व्यापारिक फाइदाका लागि मात्र हात हाल्न आइपुगेको देखिन्छ। रानीपोखरीको ऐतिहासिक, पुरातात्विक तथा सांस्कृतिक पक्षको प्रसंगलाई महानगरपालिकाले विकास विरोधी अनावश्यक हस्तक्षेप ठान्ने गरेको अवस्था छ ।

प्रतिकृया दिनुहोस