न्यायपरिषदद्वारा प्रधानन्यायाधीशका लागि ६ जनाको नाम सिफारिस
न्याय परिषद्ले नयाँ प्रधानन्यायाधीशमा नियुक्तिका लागि सर्वोच्च अदालतका ६ जना न्यायाधीशको नाम संवैधानिक परिषदमा पठाउने निर्णय गरेको छ।
आज बसेको न्यायपरिषद्को बैठकले योग्यता पुगेका सर्वोच्चका न्यायाधीशमध्ये वरिष्ठताको आधारमा क्रमशस् गोपाल पराजुली दीपकराज जोशी ओमप्रकाश मिश्र देवेन्द्रगोपाल श्रेष्ठ चोलेन्द्र शम्शेर जबरा र जगदीश शर्मा पौडेलको नाम सिफारिस गरेको हो।
परिषद्को बैठकले कामु प्रधानन्यायाधीश गोपाल पराजुलीको उमेर विवादमा बोल्दै उनको जन्ममिति विक्रम सम्वत २०१० बैशाख १६ गते कायम रहने निर्णय गरेको छ।
अब पराजुली प्रधानन्यायाधीशमा चयन भए भने उनी १५ बैशाख २०७५ सम्म पदमा रहन पाउनेछन्।
परिषदद्वारा जारी वक्तव्य अनुसार 'नागरिकताको प्रमाणपत्रको आधारमा कायम हुने जन्ममिति र पूरा जन्ममिति खुलेको शैक्षिक योग्यता र वैयक्तिक विवरण (सिटरोल) को जन्ममितिबीचमा एक वर्षभन्दा कमको अन्तर देखिएकाले न्याय परिषद् ऐन २०७३ को दफा ३१ को उपदफा ६ तथा सर्वोच्च अदालतलको हालैको आदेश अनुसार पराजुलीको जन्ममिति २०१० वैशाख १६ कायम गरी संवैधानिक परिषदमा पठाउने निर्णय भएको छ।'
उच्चअदालतका मुख्य न्यायाधीश सुरेन्द्रवीर सिंह बस्न्यातको मामिलामा नागरिकताको जन्ममिति कायम गर्ने तात्कालीन प्रधानन्यायाधीश सुशीला कार्कीको निर्णय सर्वोच्चले हालै बदर गर्दै शैक्षिक प्रमाणपत्रमा खुलेको पूरा जन्ममिति कायम हुने फैसला गरेको थियो।
त्यही आधारमा पराजुलीको हकमा पनि शैक्षिक प्रमाणपत्र अनुसारको जन्ममिति कायम गरिएको परिषद्ले जनाएको हो ।