जथाभावी बाटो काट्नेसँग जरिवाना नलेऊः गृहमन्त्री
गृहमन्त्री जनार्दन शर्माले जथाभावी बाटो काट्दा जनतालाई २०० जरिवाना तिराउनेभन्दा ट्राफिक शिक्षामा जोड दिन आग्रह गरेका छन् ।
आज गृह मन्त्रालयमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखलाई गृहमन्त्री शर्माले जरिवाना लिने कार्य तत्काल हटाएर जनचेतना जगाउनेतर्फ लाग्न निर्देशन दिएका हुन् ।
गृहमन्त्री शर्माले भने– “बरु जथाभावी बाटो काट्नेलाई राखेर शिक्षा दिनुहोस् । जनचेतना व्यापक बनाउनुस् तर जरिवाना तत्काल रोक्नुहोस् ।”
शर्माले विद्युत् कटौतीको अन्त्य जस्तै नेपाली जनताले अनुभव गर्ने गरी काठमाडौं उपत्यकाको ट्राफिक समस्या समाधान गर्न आग्रह गरे ।
उपलब्ध साधन र स्रोतको प्रयोग गरेर सहज सवारी आवागमनको व्यवस्था गर्नुपर्नेमा जोड दिँदै गृहमन्त्रीले अन्य मन्त्रालय र विभागसँगको समन्वयमा गर्नुपर्ने कामको पूर्ण फेहरिस्त बनाउन पनि निर्देशन दिएका छन् ।
उनले काठमाडौं उपत्यकामा साझाजस्ता ठुला सवारी साधन चलाउनुपर्ने जोड दिए । त्यस्तै गृहमन्त्री शर्माले सडक किनारामा थुपारिएका निर्माण सामग्री तत्काल हटाउन र मेलम्ची खानेपानी आयोजनाले भत्काएका सडक तत्काल पुनःनिर्माण गरी धुलोरहित बनाउन निर्देशनसमेत दिए ।