राष्ट्रपति भोलि जेनेभा जाँदै
राष्ट्रपति विद्यादेवी भण्डारी भोलि, ३० जेठमा स्विट्जरल्यान्डको जेनेभा जाने भएकी छन् ।
अन्तर्राष्ट्रिय श्रम सङ्गठनको निमन्त्रणामा जेनेभामा भइरहेको ‘१०६ औँ अन्तर्राष्ट्रिय श्रम सम्मेलन’ मा भाग लिन राष्ट्रपति त्यसतर्फ जान लागेकी हुन् ।
राष्ट्रपति भण्डारीले सम्मेलनलाई १ असारमा सम्बोधन गर्ने कार्यक्रम तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
नेपाल सन् १९६६ मा सङ्गठनको सदस्य बनेको हो । नेपालका राष्ट्रप्रमुखलाई सम्मेलनमा सम्बोधन गर्न आमन्त्रण गरेको यो पहिलो पटक हो ।
श्रम सङ्गठनका महानिर्देशक गाय राइडर र राष्ट्रपति भण्डारीको १ असारमा शिष्टाचार भेटघाट हुनेछ । राइडरले भण्डारीको सम्मानमा दिवाभोजको आयोजनासमेत गर्नेछन् ।
राष्ट्रपति भण्डारी ४ असारमा स्वदेश फर्कने कार्यक्रम रहेको छ ।