ब्लगसोमवार, जेठ २९, २०७४

विकासको चरण

मनिष झा

प्रस्तावित बाहिरी चक्रपथ प्रयोग गर्न पाउँदासम्म हाम्रो सडक संस्कृति आजको भन्दा निकै परिष्कृत भइसक्नेछ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाडौं उपत्यकाभित्रको सडकमा जथाभावी सडक काट्ने पैदल यात्रुलाई कारबाहीस्वरुप रु.२०० जरिवाना गर्ने निर्णय कार्यान्वयन गरेको पहिलो दिन नै ३३ सय जना कारबाहीमा परे । जहाँ मन लाग्यो, त्यहींबाट सडक पार गर्न खोज्ने पैदल यात्रुहरूबाट पाँच दिनमै रु.२६ लाख राजस्व संकलन भएको समाचार सुनियो, पढियो । सामाजिक सञ्जालमा यसबारे अहिले पनि निकै विरोध र गुनासा देखिन्छन्– पूर्वाधार विना नियम लाद्न खोजियो भनेर । तर, सरकारले न ती विरोध/गुनासाप्रति कुनै जवाफ दिएको छ न त पूर्वाधार सुधारतर्फ कदम नै चालेको देखिन्छ ।

भनिन्छ, कुनै परिवार कति सुसंस्कृत छ भनेर बुझनु छ भने उनीहरूको भान्सा र शौचालय हेर्नुपर्छ । कुनै समाज र शहरको सभ्यता बुझनु छ भने चाहिं त्यहाँको सडक संस्कृति हेर्दा हुन्छ ।

७७ वर्ष पहिले सन् १९४० मा एडोल्फ हिटलरले राजा त्रिभुवनलाई उपहार दिएको मर्सिडिज बेन्ज कारलाई भीमफेदीको बाटोहुँदै बोकेर काठमाडौं ल्याइएको थियो । १९२८ मोडलको त्यही नेपाली सडकमा गुडेको पहिलो कार हो भन्ने मानिन्छ । राणाको होस् या राजाको, नेपालमा पहिलो कार ल्याउँदासम्म पनि त्यसलाई गुडाउन लायकको सडक थिएन । भनेपछि, त्यो बेलासम्म हाम्रो सभ्यताको मापन अरू नै केही आधारहरू थिए होलान् । अहिले चाहिं सडकमा देखिने संस्कृति नियालेर नेपाली सामाजिक सभ्यता र सडकहरूको अवस्था हेरेर विकासको मापन गर्न पक्कै सकिन्छ ।

जति सडक पूर्वाधार विकास हुन्छ त्यति नै जनजीवन सहज हुन्छ । दैनिक जीवनमा कम संघर्ष गर्नुपरेको प्रभाव मानिसहरूको बोली–व्यवहारमा झ्ल्कन्छ । घर वा डेराबाट कतै निस्किंदा जति सहज रूपमा गन्तव्य पुग्यो, हाम्रो व्यवहार त्यस्तै राम्रो हुन्छ । सडक या गाडीमा जति संघर्ष गर्नुपर्‍यो; त्यति नै हामी झ्र्कोफर्को गर्छौं, व्यवहार पनि त्यस्तै हुन जान्छ ।

इन्जिनमा इलेक्ट्रिक स्टार्ट र डिस्क ब्रेक आविष्कार गर्ने फेड्रिक विलियम ल्यन्चेस्टरले बेलायतको सडकमा सन् १८९५ मा पहिलो पटक कार गुडाउँदा त्यहाँ पनि सडक पूर्वाधारको विकास भएको थिएन । यद्यपि, त्यो हाम्रोभन्दा निकै पहिलेको कुरा हो । हाम्रो र उनीहरूको सडक संस्कृतिमा यो समयान्तर राम्रैसँग झ्ल्कन्छ ।

राणाकालमा मानिसले गाडी बोकेर ‘नेपाल’ भित्र्याउँदै गरेका तस्वीरहरू हेरेका हामीले केही वर्ष अगाडि मात्र देखेको र अनुभव गरेको कुरा हो– कोटेश्वर–सूर्यविनायक सडकको स्तर । शुरूमा त्यो सडकको उपयोग गर्न नजान्दा दुर्घटना पनि औसतभन्दा धेरै नै भए, थुप्रैको ज्यान गयो । अहिले त्यो अवस्था घट्दो छ र उपत्यकावासीको सोच र जीवनशैलीमा नेपाली सन्दर्भमा ‘एक्सप्रेस–वे’ भन्न सकिने गरिको त्यो सडकले केही मात्रामा भए पनि फरक पारेको महसूस हुन्छ ।

जसरी सडकले विकाससँग र सडक सभ्यताले सामाजिक सुसंस्कारसँग प्रत्यक्ष सम्बन्ध राख्छ, त्यसरी नै त्यो विकासक्रम र सभ्यता कायम राख्न चालिने कदमहरूले त्यो देशको नीतिनिर्माणको अवस्थाको व्याख्या गर्छ । माथि चर्चा गरिएको ‘आवश्यक पूर्वाधार विना नियम लाद्न खोजेको’ भन्ने आरोप गलत छैन । सरकार आफ्नो जिम्मेवारीबाट पन्छिन खोज्ने करदाताले चाहिं सबै जिम्मेवारी समयमै पूरा गर्नुपर्ने प्रवृत्ति हामीले दशकौंदेखि अनुभव गर्दै आएका छौं ।

देशभर मोटरसाइकलसहित २४ लाख जति सवारी साधन दर्ता भएका छन् । यो भनेको प्रति १२ नेपालीको भागमा एउटा सवारी साधन हो । सडक पूर्वाधार विकासमा अगाडि रहेको अमेरिकामा पहिलो कार १८९३ मा गुडेको थियो । ३२ करोड जनसंख्या भएको अमेरिकामा २६ करोड सवारी साधन दर्ता भएका छन् । त्यहाँ प्रति एक सवारी साधन १.२ व्यक्ति पर्छन् । यसले अमेरिकाको जीवनस्तर, जनताको क्रयशक्ति र सभ्यता देखाउँछ । ५२ हजार डलर प्रतिव्यक्ति वार्षिक आय रहेको देश हो अमेरिका । हामी पनि यसपटक ८६५ डलरमा पुगेका छौं ।

हाम्रा कतिपय जिल्लाका सदरमुकामबाट गाउँमा पुग्न साता दिनसम्म हिंड्नुपर्ने अवस्था छ । विस्तारै सडक पनि बन्दैछ, तर सरकारले सवारी साधनलाई अझै पनि विलासिताको वस्तु मानेर २४० प्रतिशतसम्म कर असुलिरहेको छ । सडकमा पैदल यात्रुको लागि हिंड्ने ‘सुविधा’ हेर्दा, सर्वसाधारणप्रति राज्यको हेपाहा आचरण देखाउँछ भने सडकमा लेन मिचेर गुड्ने गाडी र पैदल यात्रीको व्यवहारले हाम्रो सामाजिक सभ्यताको स्तर । र पनि हामी, बाहिरी चक्रपथतिर उन्मुख छौं । त्यो भनेको हामी क्रमशः सुसंस्कृत नै हुँदैछौं ।

प्रतिकृया दिनुहोस