युनिभर्सल र नेशनल मेडिकल कलेजले गरेको भर्ना गैरकानुनी
भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साईन्सेज (युसिएमएस) र वीरगञ्जस्थित नेशनल मेडिकल कलेजले चिकित्साशास्त्र तर्फ शैक्षिक सत्र २०७४/७५ लागि गरेको विशेषज्ञ तहको भर्ना गैरकानुनी भएको छ ।
चिकित्सा शास्त्र अध्ययन संस्थान (आईओएम)ले २९ जेठमा सूचना निकालेर युसिएमएस र नेशनल मेडिकल कलेजले लिएको भर्ना गैरकानुनी भएको जनाएको हो ।
नेपाल मेडिकल काउन्सिलले त्रिवि अन्तर्गतका पीजी तहको पढाई हुने नेशनल र युनिभर्सल कलेजलाई शैक्षिक सत्र २०७३/७४ का लागि क्रमशः २९ र ३७ सिट निर्धारण गरेको थियो ।
उक्त सिट निर्धारणपछि आइओएमले ओपन हाउस काउन्सिलिङ र त्यसैका आधारमा विद्यार्थीको योग्यता क्रमको लिष्ट ननिकाल्दै ती दुवै कलेजले मेडिकल काउन्सिलले दिएकोभन्दा बढी सिटमा विद्यार्थी भर्ना लिएका थिए । नेशनलले विशेषज्ञ तहमा ३० सिट र युसिएमएसले ४२ सिटमा भर्ना लिएर विद्यार्थी पढाउन थालिसकेका छन् ।
काउन्सिलले पूर्वाधार र विषयगत शिक्षकका आधारमा ३७ सिट दिएपछि युनिभर्सल कलेज ४२ सिटमा विद्यार्थी भर्ना गर्न पाउनुपर्ने भन्दै उच्च अदालत पाटन गएको थियो । तर, गत १४ जेठको आदेशमा अदालतले कलेजको माग अनुसार अन्तरिम आदेश गरेन ।
आईओएमले अाज निकालेको सूचनाअनुसार कलेजका विरुद्ध परेको रिट निवेदनमाथि सर्वोच्च अदालतले गएको २१ जेठमा सुनुवाई गर्दै त्रिविले सम्बन्धन दिएका कलेहरुमा विद्यार्थी भर्ना सम्बन्धी योग्यताक्रम खलबलिने गरी भर्ना सम्बन्धी कार्य नगर्नु नगराउनु भनेर आदेश दिएको थियो ।
आईओएमले निकालेको सूचनामा भनिएको छ, ‘अदालतले जारी गरेको आदेशअनुसार अपरोक्त कलेजहरुमा गरिएका भर्ना स्वतः गैरकानुनी भएको व्यहोरा सम्बन्धित कलेज, विद्यार्थी, अभिभावक तथा अन्य सरोकारवाला सबैलाई जानकारी गराइन्छ ।’
यस्तै, आईओएमले विशेषज्ञ तहमा भर्ना हुने विद्यार्थीको ओपन हाउस काउन्सिलिङ गर्ने मिति छिट्टै सार्वजनिक गर्ने जनाएको छ ।
रामु सापकोटा