खेलकुदआइतवार, जेठ २८, २०७४

‘रन’ मा मन

हिमालखबर

पूर्वी नेपालको कञ्चनजंघादेखि पश्चिम हिल्सासम्मको १७ सय किमी दूरीको हिमाली दौड पूरा गर्ने पहिलो नेपाली महिला हुन्, छेची शेर्पा राई (२८) ।

फ्रान्सेली संस्था ‘द नाइट्स अफ द विण्ड’ को सक्रियतामा ९ अप्रिलदेखि २४ मेसम्म आयोजित ‘द ग्रेट हिमाल रेस २०१७’ मा सहभागी छेची महिलामा प्रथम र समग्रमा तेस्रो भइन् । पाँचजना महिला सहभागीसहित विभिन्न मुलुकका ४५ जना रनर सहभागी प्रतियोगिता पूरा गर्न उनले ४५ दिनसम्म दौड्नुपर्यो ।

धेरैले दौड कठिन र लामो समयको भएको भन्दै नजान सुझाएका थिए । “धेरैले सकिंदैन नजाऊ भन्थे तर, जसरी भए पनि एकपटक त यो प्रतियोगितात्मक दौड पूरा गर्छु भन्ने इच्छा थियो”, उनी भन्छिन् ।

सोलुखुम्बु, खरिग्वालाकी छेचीले दौडन थालेको सात वर्ष मात्र भयो । पहिलोपटक काठमाडौंमा भएको कान्तिपुर हाफ म्याराथनमै महिलातर्फ पहिलो भएपछि उनी हौसिइन् । त्यसपछि तेञ्जिन– हिलारी एभरेष्ट म्याराथनमा महिलातर्फ तेस्रो र एभरेष्ट म्याराथनमा महिलातर्फ पहिलो भइन् । त्यसयता २० भन्दा बढी दौड प्रतियोगितामा सहभागी भइसकेकी छेचीले लामो दूरीका तीन वटा दौड पनि भ्याइसकेकी छन् । काठमाडौंको बौद्धबाट लमजुङ बेसीशहरसम्मको ४०० किमीको ‘थ्री भ्याली ट्रायल २०१२’ ५५ घण्टा १० मिनेट १४ सेकेन्डमा पूरा गर्दै समग्रमा पाँचौं र महिलातर्फ पहिलो भइन् ।

सोलुखुम्बुको जिरीबाट लुक्लासम्मको ३०० किमीको सोलुखुम्बु ट्रायल रेसमा पनि महिलातर्फ पहिलो हुने छेची नै थिइन् । धनगढीमा भएको छैटौं राष्ट्रिय खेलकुद प्रतियोगितामा पनि उनी सहभागी त भइन् तर, परिणाम सोचेजस्तो भएन । हिमाल, पहाडमा दौडिरहने उनलाई गर्मीले छेक्यो । “हावापानी मिलेन, धेरै गर्मी अनि दौडनै सकिनँ”, उनी भन्छिन् ।

आमा रनर
९ कक्षामा पढ्दै गर्दा आमाको मृत्यु भएपछि छेचीले पढाइ छाड्नुपर्यो । उनी खुम्बुकोे होटलमा काम गर्न थालिन् । खुम्बुमा हरेक वर्षजसो एभरेष्ट म्याराथनको चहलपहल हुन्थ्यो । उनलाई पनि दौडन मन त लाग्थ्यो तर, दौडने सबै केटाहरु हुन्थे । फेरि दौडेर खान पुग्ने पनि त थिएन । सात वर्षअघि एक अमेरिकी नागरिकको सानेपास्थित बासस्थानको रेखदेखको काम पाएपछि छेची काठमाडौं आइन् । अनि मात्र उनको दौडने इच्छा पूरा भयो ।

छेचीसँग अहिले अढाइ वर्षको छोरो छ । श्रीमान् अविरल राई ट्रेकिङ गाइड हुन् । त्यसैले पनि छेचीलाई दौडन रोकतोक छैन । घर मालिकले दौडन सामान र खर्च मात्र होइन, आवश्यक पर्दा छुट्टी पनि सहजै दिन्छन् । दौडप्रतिको लगाव, छोरो १० महीना पुग्दानपुग्दै उनी प्रतियोगितामा भाग लिन पुग्थिन् ।

सन्तान घरैमा छाडेर लामो दूरीको प्रतियोगितामा भाग लिन निकै कठिन हुन्छ । आफन्तहरुले अब दौडन छाडेर बच्चाको हेरचाहमा लाग्न पनि सुझाव दिन्छन् । तर, उनले दौड छाड्न सकेकी छैनन् । दौड्दा आनन्द र ऊर्जा थपिने उनको भनाइ छ ।


विदाको दिन शनिबार पारेर दौडको अभ्यास गर्ने छेचीलाई पारिवारिक जिम्मेवारी र दौडलाई कसरी सँगसँगै लैजाने भन्ने चुनौती छ ।
सविता श्रेष्ठ

तस्वीरः बिक्रम राई/हिमालखबर

 

प्रतिकृया दिनुहोस