जनकपुरमा राजपाले कांग्रेसको झण्डा र ब्यानर जलायो
राष्ट्रिय जनता पार्टी नेपालका नेता कार्यकर्ताले जनकपुरमा नेपाली कांग्रेसका प्रचार सामाग्री जलाएका छन् ।
२८ जेठ अपरान्ह नेपाली कांग्रेस धनुषाका नेता मुन्ना चौधरी चढेको ज १ च ११४० नम्बरको जिपमा र साथै रहेको अर्को जीपमा टाँसिएको झण्डा र तुल ब्यानर राजपा नेपालका नेता कार्यकर्ताले जनकपुरको जनक चौकमा खोसेर जलाएका हुन् ।
झण्डा र ब्यानर जलाउँदै राजपा नेपाल धनुषाका अध्यक्ष परमेश्वर साहले संविधान संशोधन नगरेरै हुने निर्वाचनलाई बहिष्कार गर्ने पार्टीको नीति अनुसार झण्डा र व्यानर जलाइएको भन्दै कसैका पनि निर्वाचनसम्बन्धी गतिविधिको प्रतिरोध गर्ने बताए ।
१५/२० जनाको समूहमा रहेका राजपा नेपालका नेता कार्यकर्ताहरुले जनक चौकमै नाराबाजी समेत गरेका थिए ।
यसअघि शनिबार पनि राजपा नेपालका नेता कार्यकर्ताहरुले जनकपुरको जनक चोकमै माओवादी केन्द्रको समेत झण्डा र ब्यानर जलाएका थिए ।
ईश्वरचन्द्र झा, जनकपुर