सर्लाहीमा उपेन्द्र यादवको कार्यक्रम विथोल्ने प्रयास, फोरम र राजपाबीच झडप
सर्लाहीको मधुवन गोठमा आयोजित संघीय समाजवादी फोरमको कार्यक्रम विथोल्न पुगेका राष्ट्रिय जनता पार्टी नेपालका कार्यकर्ता र फोरमका कार्यकर्ताबीच झडप भएको छ ।
आज दिउँसो १ बजेका लागि आयोजना गरिएको फोरम अध्यक्ष उपेन्द्र यादव सहभागी चुनावी सभा एवम् पार्टी प्रवेश कार्यक्रम राजपाको अवरोध र विरोध प्रदर्शनकाबीच करिब साढे तीन बजेमात्रै शुरु भएको छ ।
सभास्थलमा जान लागेकाहरुलाई अवरोध गर्न राजपा कार्यकर्ताहरुले ठाउँठाउँमा अवरोध गर्ने, टायर बाल्ने, सडकमा मुढा तेस्र्याउने लगायतका कार्यहरु गरेका थिए ।
अवरोधकाबीच अध्यक्ष यादव केही ढिलो गरी कार्यक्रम स्थलमा प्रवेश गरेका छन् । प्रहरीको ठूलो सुरक्षा घेराबीच उनी सभास्थलमा प्रवेश गर्दैगर्दा दुवैपक्षका कार्यकर्ताबीच झडप भएको हो । झडपका क्रममा केही बेर ढुंगा हानाहान समेत भएको छ ।
प्रहरीको हस्तक्षेपले झडपले अहिलेसम्म ठूलो रुप लिन पाएको छैन । कार्यक्रम स्थल वरपर ठूलो संख्यामा राजपाका कार्यकर्ताहरुले नाराबाजी गरिरहेका छन् भने उनीहरुले कालो झण्डा प्रदर्शन समेत गरेका छन् ।
विश्वनाथ ठाकुर, सर्लाही