टिप्पणीशनिवार, जेठ २७, २०७४

देउवाले थेग्लान् जिम्मेवारी ?

पुरञ्जन आचार्य

विरुप छविका साथ गणतन्त्र नेपालको प्रम हुन आइपुगेका शेरबहादुर देउवा ८ होइन, ६८ महीना प्रम हुनसक्ने परिस्थिति छ।

शेरबहादुर देउवा प्रथमपटक संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको प्रधानमन्त्री भएका छन् । उनी संवैधानिक राजतन्त्र अन्तर्गत तीनपटक प्रधानमन्त्री भएका हुन् ।

त्यो बेलाको अनुभव, भूराजनीतिक परिदृश्य र मानसिक अवस्था अहिलेको नेपालमा काम लाग्दैन । देउवाले बास गर्ने बालुवाटार, काम गर्ने सिंहदरबार र सत्संग गर्ने समाज उही हुन सक्छ, विगत र आज पनि; तर गणतन्त्र नेपालमा समाजको सनातनी बनोट र राजनीतिक संरचनाको रूपान्तरण भइसकेको छ ।

आज देशको राजनीतिक, सामाजिक, सांस्कृतिक क्षेत्र र राज्य संरचनामा समेत व्यापक परिवर्तन आएको छ । नेपाली समाज स्वराजउन्मुख भएकोले प्रम देउवाको सोच पनि सोही अनुरूप रूपान्तरण हुन जरूरी छ । नेपाली कांग्रेस पार्टी र यसका नेताहरूको सोचमा अझै गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता र समावेशी लोकतन्त्रको ठाउँमा पुरानै विचारको धङधङी बाँकी रहेको आरोप लाग्दै आएको छ ।

देउवाले पुराना सोच–संगत त्यागेर नयाँ दृष्टिकोणका साथ अगाडि बढ्न सक्छन्, सक्दैनन् भन्ने कुरा नयाँ नेपाल निर्माणको शर्त बन्न पुगेको छ ।

भाग्यमानी देउवा !
शेरबहादुर देउवा चौथो पटक प्रधानमन्त्री भएको ‘लाइभ टेलिकास्ट’ आइरहँदा नयाँबानेश्वरको चियापसलमा एकजना पाका व्यक्तिले ‘शेरेको भाग्य नै बलियो’ भन्दै सुस्केरा हाले । पसलमा उपस्थित सबैले उनीतिर आँखा लगाउने नै भए । एकजनाले त सोधे पनि, “चिन्नुहुन्छ, देउवालाई ?”

प्रम देउवाका समवयी ती कांग्रेस योद्धाले विद्यार्थी जीवनमा सँगै आन्दोलन गरेको, सँगै जेल बसेको, काठमाडौंका गल्लीहरूमा वर्षौं सँगै भौंतारिएर पनि हिंडेको बताए । उनले एक सासमा भने, “बरु उसले २०४६ सालको आन्दोलन बेलायत बसेर हेर्‍यो, म त त्यसमा पनि होमिएँ । तर आज उही प्रममा रेकर्ड राख्दैछ, शेरेको भाग्य नै बलियो !”

शेरबहादुर देउवा भाग्यको कारण मात्र देशको राजनीतिक शिखरमा पुगेका हुन् त ? निःसन्देह होइनन् । उनी ४५ वर्षमा गृहमन्त्री र ५० वर्षमा प्रम बने, पहिलो पटक ।

भाग्यले एउटै मान्छेलाई पटक–पटक साथ कहाँ पो दिएको छ र विश्वमा ? फेरि देउवा विराटनगरका कोइराला, काठमाडौंको सिंह र मिथिलाको निधि जस्तो पारिवारिक विरासत बोकेर कांग्रेस पार्टीमा स्थान बनाएका नेता पनि होइनन् । देउवा आफैं भन्ने गर्छन्, “जुँगाको रेखी राम्ररी नबस्दै म प्रजातान्त्रिक आन्दोलनमा होमिएँ, करीब एकदशक जेल बसें ।”

उच्च मध्यम वर्गले हालीमुहाली गरेको कांग्रेस नेतृत्वमा आज शेरबहादुर छन् भने त्यसको कारण २०४६ अघि उनले निष्ठापूर्वक गरेको प्रजातान्त्रिक संघर्ष नै हो ।

२०४६ पछि उनी कांग्रेसभित्र क्षेत्रीय शक्ति आर्जेर राष्ट्रिय नेता भएका हुन् । कांग्रेसमा राष्ट्रियस्तरको नेता भनी दाबी गर्नेहरू धेरै छन्, तर तिनको हैसियत आफ्नो जिल्ला र क्षेत्रमा पनि प्रभावकारी छैन । २०४७ र २०५६ को आम निर्वाचनमा कांग्रेसलाई संकटबाट उठाएर सत्तामा पुर्‍याउनमा देउवाको नेतृत्वदायी भूमिका थियो ।

देउवा यस अर्थमा भाग्यमानी छन् कि कांग्रेसमा उनी भन्दा त्यागी, सक्षम र संघर्ष गरेका तर, संसद्को ढोकासम्म हेर्न पनि नपाएका सयकडौं योद्धा छन् । देउवा भने इतिहासको एउटा कालखण्डमा गरेको त्याग, संघर्ष र गुटगत राजनीतिको कारणबाट गणतन्त्र नेपालको पनि प्रधानमन्त्री भएका छन् ।

अब उनका अगाडि भाग्यले होइन कर्मले चौथो पटक प्रम भएको पुष्टि गर्न सफा, स्वस्थ संयुक्त सरकार चलाउने, संविधान कार्यान्वयन गर्ने र कांग्रेस पार्टीको सभापतिको हैसियतमा पनि सक्षम–सफल हुने चुनौती छ ।

देउवालाई अवसर

२४ जेठमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनीयताको शपथ लिंदै नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवा । तस्वीर: बिक्रम राई

संयुक्त सरकारको प्रम भएका देउवालाई संविधान संशोधन गरेर मधेशकेन्द्रित राष्ट्रिय जनता पार्टी (राजपा) लाई राजनीतिको मूलधारमा ल्याउने चुनौती छ ।

मधेशकेन्द्रित दलहरू चुनावमा नआउँदा संविधानको स्वीकार्यता कमजोर भइरहेको छ । भारतले संविधानसभाबाट जारी नेपालको संविधानलाई अझै स्वागत गरेको छैन ।

संविधानको स्वीकार्यता बढाएर देशमा शान्तिसुुरक्षा कायम राख्दै तीनवटा निर्वाचन गराउने जिम्मेवारी प्रम देउवाको काँधमा छ । यी जिम्मेवारी पूरा गर्न उनीसँग प्रभावशाली मन्त्रिमण्डल र जिम्मेवार निजी सचिवालय हुनुपर्छ ।

प्रम देउवाले पहिलो चरणमा बनाएको मन्त्रिमण्डलले आम जनमानस र कांग्रेस भित्र पनि सकारात्मक सन्देश प्रवाह गर्न सकेन । नेपाली जनताले मन्त्रिमण्डलमा थोरै नै भए पनि कांग्रेसका गगन थापा, माओवादीका जनार्दन शर्मा जस्ता अनुहारहरू समेटिएको हेर्न चाहेका थिए, जसबाट राम्रो कामले निरन्तरता पाओस् ।

तर, देउवाले जुन खाले मन्त्रिमण्डल गठन गरे, त्यसबाट सबभन्दा क्षति उनकै व्यक्तित्वमा पुगेको छ । उनको छवि निर्माण आजको ठूलो आवश्यकता हो । प्रम देउवाको छविमा कांग्रेसको पनि भविष्य जोडिएको छ ।

देउवाले अब गल्ती गर्न पाउँदैनन् । उनले गर्ने गल्तीले अब कांग्रेस पार्टी, लोकतन्त्र र देशलाई असर गर्नेछ । अबको सानो गल्तीले पनि विगतमा उनले गरेका भीमकाय गल्तीहरू स्मरण गराउँछ ।

प्रम देउवा र कांग्रेस सभापति देउवा दुई फरक जिम्मेवारीमा रहेका एकै व्यक्ति हुन् । उनलाई हरक्षण यो हेक्का रहनुपर्छ । उनको व्यक्तित्वले असाधारण किसिमले उँचाइ लिन सके मात्र देश, पार्टी उनी स्वयम्को भविष्य प्रकाशमय हुनेछ ।

अढाइ दशकअघि देउवाका राजनीतिक संरक्षक कृष्णप्रसाद भट्टराईले नयाँ संविधान कार्यान्वयनमा जुन चुनौतीको सामना गर्नुपरेको थियो प्रम देउवा अहिले त्योभन्दा कैयन् गुणा बढी चुनौतीका बीच विराजमान छन् ।

संभावनाहरू पनि उत्तिकै छन् । उनी ८ महीना होइन, ६८ महीना प्रम हुनसक्ने परिस्थिति छ, निर्वाचनमा जितेर । आठ महीनामा उनले त्यो तयारी गर्न सक्छन् ? उनले ७ माघ २०७४ भित्र तीनवटा निर्वाचन गरेर संविधान कार्यान्वयन प्रक्रिया अगाडि बढाउनुपर्नेछ । देशलाई समृद्धिको बाटोमा लैजाने काम त्यसपछि बल्ल शुरू हुन्छ । देउवाले त्यसको नेतृत्व लिने अवसर पाएका छन् ।

संयुक्त सरकार भनेको क्षेत्रीय भावनाहरूलाई राष्ट्रिय भावनासँग जोड्ने अवसर पनि हो । नेपालमा संयुक्त सरकारको युग शुरू भएको एक दशक भयो । भावी दिनमा पनि यसैमा अभ्यस्त हुनुपर्ने संवैधानिक व्यवस्था जस्तै छ ।

नेपालको भौगोलिक, जातीय र सांस्कृतिक विविधताको कारण संयुक्त सरकार राष्ट्रिय अखण्डताको लागि पनि उपयुक्त हुनसक्छ । संयुक्त सरकारको लागि निर्वाचनमा औचित्यपूर्ण र स्वस्थ तालमेल, गठजोड गर्नुपर्ने हुन्छ । त्यसतर्फको तयारीमा कांग्रेस सभापति भएकाले देउवाबाट लहडको होइन, गम्भीरताको अपेक्षा गरिन्छ ।

देउवाले सत्ताको लागि भरतपुरमा निवर्तमान प्रम पुष्पकमल दाहालपुत्रीलाई कृपा गरे भन्ने सन्देश गयो । यो प्रकरणमा कांग्रेसजनको शिर निहुरियो । यस्तो भ्रमित सत्ता समीकरण र लेनदेनबाट देउवाले त्यही रूख काटेका छन्, जसको हाँगामा उनी बसेका छन् ।

ठीक ढंगले सत्ता समीकरण र संचालन गर्न नसक्ने पार्टीहरू आफ्नै इतिहासमा हराएका छन् । भारतमा मनमोहन सिंहको सरकार यूपीए–२ भ्रष्टाचार प्रकरणका कारण पतनको बाटोमा गयो ।

पार्टी अध्यक्ष सोनिया गान्धी पनि कांग्रेसका नेता र सत्ता गठबन्धनका पात्रहरूको भ्रष्टाचार टुलुटुलु हेरेर बस्नमा सीमित भइन् । भारतलाई स्वतन्त्र पारेको गान्धी, नेहरू र पटेलहरूको भारतीय कंग्रेसले संसद्मा १० प्रतिशत सीट ल्याउन पनि नसकेर विरोधी दलको हैसियत बनाउन सकेन । देउवाले यो उदाहरणबाट उच्च नैतिक आचरणबाट सरकारलाई नेतृत्व दिनुपर्ने शिक्षा लिन सक्छन् ।

नेपालमा संयुक्त सरकार समस्या मात्र हो भन्ने सोच धेरैमा देखिन्छ । विगतको तितो अनुभवबाट यस्तो सोच बन्न गयो । नेपालको जातीय विविधतालाई हेर्दा व्यापक जनपरिचालनबाट फराकिलो लोकतान्त्रिक संयुक्त समावेशी सरकार निर्माण हुनसक्ने देखिन्छ ।

प्रम देउवाले त्यसको आधारशिला अहिले राख्न सक्छन् । संविधानले बहुमतीय सरकारलाई अपत्यारिलो बनाएकोले सबै राष्ट्रिय पार्टीहरू संयुक्त सरकारमा अभ्यस्त हुन मानसिक रूपले तयार रहनुपर्छ ।

अपेक्षा र सन्देह
देउवाका असंख्य सहयोद्धाहरू सिंहदरबार छिर्न नसके पनि बदनाम छैनन्, स्वाभिमानी जीवन बाँचेका छन् । पटक–पटक सिंहदरबार हाँक्ने मौका पाएका देउवाले जीवनको उत्तरार्द्धमा नेपाली जनतामाझ आफूलाई राम्ररी उभ्याउने अन्तिम अवसर पाएका छन् र यसमा उनी नचुक्ने अपेक्षा गरिएको छ । उनी कसरी उभिन्छन्, त्यसैमा निर्भर छ– कांग्रेसको भविष्य र नेपाली जनताको समृद्धिको सपना पनि ।

देउवाले पाएको दोहोरो जिम्मेवारी सफलताका साथ पूरा गर्न सक्छन् भन्नेमा सन्देह छ । देउवाको ठाउँमा अरू नै कोही भए पनि अहिलेको दोहोरो जिम्मेवारी सम्हाल्न गाह्रै हुने थियो । एकातिर देश चलाउनु छ, अर्कोतिर नेपाली कांग्रेसलाई नेतृत्व दिनुपर्नेछ । यसको लागि देउवाको मन्त्रिमण्डल र निजी सचिवालयमा मानसिक–शारीरिक रूपले सक्षम र देशप्रति समर्पित सहयोगी समूह हुनुपर्नेछ ।

 

 

प्रतिकृया दिनुहोस