मानसरोवर जाने दुई हजार तिर्थ यात्री चारदिनदेखि बाँकेमै
मानसरोबर तिर्थ यात्रामा जान लागेका भारतीय तीर्थयात्रीहरुको समूह चारदिनदेखि कोहलपुर र नेपालगञ्जका होटेलमै थन्किन बाध्य भएका छन् ।
२६ जेठमा पूर्णिमाका दिन मानसरोबर पुग्ने लक्ष्य राखेर घरबाट हिडेका भए पनि मौसमको खराबीका कारण हुम्ला जाने उडान प्रभावित भएपछि करिब २ हजार भारतीय तीर्थयात्रीहरु समस्यामा परेका हुन् ।
भारत गुजरातका मुकेश दुबेले आफू २२ जेठमै नेपाल आइपुगेको भए पनि अहिलेसम्म मनसरोबर पुग्न पाउने/नपाउने टुंगो नलागेको बताए ।
आफूहरुको यात्राको जिम्मा लिएको ट्राभल एजेन्सीले कुनै कुरा पनि स्पष्ट नभनेको र अहिले एजेन्ट नै सम्पर्कबाहिर भएपछि सामान्य सूचना पनि पाउन नसकिरहेको उनले गुनासो गरे ।
कोहलपुरस्थित होटेल सेन्ट्रल प्लाजामा बसिरहेका उनले हिन्दीमा भने, “अहिले एजेन्सीको प्रतिनिधि समेत सम्पर्कमा छैन, कहिले जाने भन्ने टुंगो नहुँदा अलमलमा छौं ।”
मानसरोबर जानका लागि नेपाल आइपुगेका भारतीय तीर्थयात्रीहरु अहिले बाँकेको नेपालगञ्ज तथा कोहलपुरका होटलहरुमा बसिरहेका छन् ।
केशव राना, बाँके