बस दुर्घटनामा ३८ घाइते
आज काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाको तीनपिप्लेमा यात्रुवाहक बस दुर्घटना हुँदा ३८ जना घाइते भएका छन् । घाइतेमध्ये चारजनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
काठमाडौँबाट काभ्रेको कार्तिके देउराली जाँदै गरेको बा २ ख ६४४१ नं को बस अनियन्त्रित भएर अरनिको राजमार्ग सडकबाट झण्डै २० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय, धुलिखेलका प्रहरी नायब उपरीक्षक नवीनराज राईले जानकारी दिए ।
घाइते भएका अधिकांशको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ । गाडीका चालक भने फरार रहेको प्रहरीले जनाएको छ । सो गाडीमा करिब ४५ जना यात्रु सवार थिए । रासस