ओलीले भने, 'हार्न लागेपछि मतपत्र च्यातिदिए भैगयो नि'
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आपराधिक मानसिकताका कारण भरतपुर महानगरपालिकाको मतगणनामा मतपत्र च्यातिएको आरोप लगाएका छन् ।
आज भक्तपुरको सूर्यविनायकमा आयोजित कार्यक्रममा ओलीले भने, “भरतपुरको मतगणनामा उम्मेदवारको कारणले गाह्रो पार्यो, एमालेले अन्त पनि जितेको छ, तर भरतपुरमै चाहिँ किन च्यातियो, अन्त किन च्यातिएन ? समस्याको जड जनताले थाहा पाइसकेका छन् ।”
भरतपुरमा मतगणना हुनैपर्ने अडान दोहोर्याउँदै उनले भने, “अपराध कर्मबाट चुनाव जित्ने होइन, जनताको मन जितेर चुनाव जित्ने प्रयास गर्नुस्, अपराध कर्मबाट जिताए मान्दैनौँ, भरतपुरमा मतगणना हुनै पर्छ ।” उनले मतगणना शुरु नगरिएसम्म संसद अवरुद्ध पार्ने चेतावनी दिए ।
संसद् प्रधानमन्त्री चुन्ने मात्रै नभई सबै समस्याको समाधान खोज्ने थलो पनि भएको बताउँदै पूर्वप्रधानमन्त्री ओलीले भने, “भरतपुर घटना संसद्को विषय होइन भनिने सुनिँदैछ, त्यसो भए के संसद्को काम प्रधानमन्त्री छान्ने मात्रै हो ? चुनावमा धाँधली भएको विषय संसद्को विषय होइन ? त्यसो भए अब हुने जुनसुकै निर्वाचनमा पनि जसले हार्न लाग्यो, त्यसैगरी मतपत्र च्यातिदिए भैगयो नि ।”
भरतपुरमा फेरि मतदान भए गलत नजिर बस्ने र आगामी निर्वाचनमा हार्ने पक्षले पटक पटक मतपत्र च्यात्ने र निर्वाचन गराइरहनुपर्ने अवस्था आउने उनको भनाइ थियो ।
उनले एमालेका तर्फबाट नवनिर्वाचित जनताका पक्षमा गम्भीर भएर काम गर्न निर्देशन दिनुभयो । “हाम्रा अगाडि अहिले चारैतिरबाट वाणहरु खनिएका छन्, तपाईँहरुले नराम्रो नगरे पनि विरोधीहरुले कसरी कमजोर पार्ने भनेर दाउ खोजिरहेका हुन्छन्”, ओलीले जनप्रतिनिधिलाई निर्देशन दिँदै भने, “जुनसुकै काम गर्दा पनि मैले गरेको काम ठिक छ कि छैन, यो समयमा यो काम गर्न हुने हो कि नहुने हो, भन्ने सोचेर मात्रै काम गर्नुस् ।”
माला लाउँदैमा आफूलाई ठूलो मान्छे भए भनेर नसोच्न आग्रह गर्दै उनले भने, “तपाईँलाई माला लाइदिएर ठूलो मान्छे बनाएको होइन, तपार्इँहरु भोट दिने प्रत्येक नागरिकको प्रतिनिधि हो, ती प्रतिनिधिको काम गर्नुस्, जनतालाई कसरी साथ लिएर जान सकिन्छ, कसरी उनीहरुको मन जितेर जान सकिन्छ भनेर अगाडि बढ्नु्स् ।”