रिपोर्टबिहिवार, जेठ १८, २०७४

कल्पना होइन इतिहास

वसन्त महर्जन

ऐतिहासिक संग्रहको अर्थ–मर्म आत्मसात् गर्न नसकेको गोरखा संग्रहालयले कल्पनाको संसार बनाउन खोजेको छ ।

तस्वीरहरुः बसन्त महर्जन

ऐतिहासिक संग्रहालयको मर्म आत्मसात् गर्न नसक्दा गोरखाको इतिहास र सामाजिक जनजीवनबारे जानकारी दिन खोलिएको गोरखा संग्रहालयको तेलचित्र कक्षमा पस्दा कुनै कलाकारको आर्ट ग्यालरीमा पसिएछ कि भनेर आगन्तुक अलमलिन्छन्। 

राजा राजेन्द्रविक्रम शाहको पाला (१८९६ साल) मा गोरखाको पोखरीथोकमा निर्मित तल्लो दरबारलाई डेढ दशकअघि गोरखा संग्रहालयको रूप दिइएको हो। काठमाडौंमा प्रचलित वास्तुकलामा आधारित यो दरबार काष्ठकलाको उत्कृष्ट नमूना पनि हो। बीचमा चोक भएको यस दरबारमा साना–ठूला गरी ३५ कोठा, १०५ झयाल र ६२ वटा ढोका छन्। झयाल–ढोकामा कुँदिएका देवदेवी, मानिस र पशुपक्षीका साना–ठूला आकृतिले तत्कालीन काष्ठकलाको राम्रो झ्लक दिन्छन्। गोरखाको ऐतिहासिकता दर्साउने अनेकौं सामग्री प्रदर्शित यस महत्वपूर्ण संग्रहालयमा कुनै ऐतिहासिकता नभएका सामग्रीको संकलन हुनु र त्यसैलाई प्रमुख आकर्षणका रूपमा प्रस्तुत गर्नुलाई 'माल पाएर चाल नपाएको' भन्न सकिन्छ।

गोरखा राज्यको इतिहास राजा द्रव्य शाहबाट शुरू भएको भान पारिनु ऐतिहासिक भूल हो। लमजुङका राजा यशोब्रह्म शाहका कान्छा छोरा द्रव्य शाहले शुरूमा लिगलिगकोटमा आफ्नो राज्य स्थापना गरेर पछि खड्का राजालाई हराई गोरखामा दखल गरेका थिए। नेपालको इतिहासमा गोरखाको चर्चा द्रव्य शाहपछि मात्रै हुने गरेको छ, जबकि लिच्छविकालमा यहाँ काठमाडौं उपत्यकाबाट शासन हुन्थ्यो। गोरखामा पाइएका अंशुवर्मा र शिवदेवका शिलालेख त्यसका ठोस प्रमाण हुन्। लिच्छविकालीन चैत्यका अवशेष पनि पाइएका छन्।

म्युजियम भित्र राखिएका तस्वीर ।

खस साम्राज्यका संस्थापक नागराजका उत्तराधिकारीहरूले गोरखालाई आफूअन्तर्गत पारेको बुझ्िन्छ। चौधौं शताब्दीमा विघटन हुनपुगेको खस साम्राज्यमा स–साना स्वतन्त्र राज्यहरू स्थापना हुनपुगे। यो कुरालाई विगतको इतिहास अध्ययनमा उपेक्षा गरियो। यो गल्ती गोरखा संग्रहालयले दोहोर्‍याउनुहुँदैनथ्यो। जबकि, द्रव्य शाहदेखि पृथ्वीनारायण शाहसम्मलाई मात्र समेट्नु समयको एउटा कालखण्ड मात्र हो भने त्यसअघिको अवधि उपेक्षित हुनु भनेको गोरखाको इतिहासप्रति अन्याय गर्नु हो।

द्रव्य शाह र उनका उत्तराधिकारीहरूको तेलचित्र संग्रहालयमा राखिएका छन्। संग्रहालय स्थापनाताका नै द्रव्य शाह, पुरन्दर शाह, छत्र शाह, राम शाह, डम्बर शाह, श्रीकृष्ण शाह, रुद्र शाह, पृथ्वीपति शाह, युवराज वीरभद्र शाह, नरभूपाल शाह र पृथ्वीनारायणको मुहारचित्र प्रदर्शनीमा राख्ने निर्णय भएको थियो। त्यसबेला यस पंक्तिकारले केको आधारमा मुहार चित्र तयार पार्ने भनी सोध्दा काल्पनिक चित्र बनाउने जानकारी दिइएको थियो।

पृथ्वीपति शाह जीवित छँदै पोखरीथोकमा उनको धातुमूर्ति राखिएको थियो भने पृथ्वीनारायणबारे थुप्रै ऐतिहासिक आधार पनि उपलब्ध भएका कारण यी दुई राजाका मुहार चित्र बनाउन धेरै हदसम्म सजिलो भएको अनुमान गर्न सकिन्छ। अन्य राजाहरूको मुहार चित्रका लागि भने कल्पनाभन्दा अर्को विकल्प देखिंदैन। 'राम शाह चौतारी' स्थित राजा राम शाहको मूर्ति पनि ऐतिहासिक आधारमा बनाइएको होइन। 

तेलचित्र कक्षमा ऐतिहासिक घटनाको चित्रण भनेर अरू चित्रहरू पनि प्रदर्शनीमा राखिएका छन्। हात्ती चढेर युद्धमा गएको लगायतका गोरखाको आर्थिक, सामाजिक तथा राजनीतिक अवस्थासँग विल्कुलै नमिल्ने चित्रहरूले इतिहासका विद्यार्थी तथा शोधकर्तालाई रनभुल्लमा पार्ने र सामान्य कलाप्रेमीहरूमा भ्रम सिर्जना गरेका छन्। ढुंगाको स्तम्भमाथि पृथ्वीपति शाहको सालिक स्थापना गर्न लागेको दृश्य अंकित चित्रको पृष्ठभूमिमा तीनतले मुरलीधरनारायण मन्दिर देखाइएको छ, जबकि उक्त मन्दिर दुई तलाको मात्र हो। यस्ता चित्रहरूले यस संग्रहालयबाट ऐतिहासिक पक्षहरूको बेवास्ता भएको देखाइरहेका छन्।

काठमाडौं उपत्यका र अन्यत्रका राजाहरूको जस्तै गोरखाका शाह राजाहरूको पनि मुहार चित्र बनाउने आग्रहमा पर्याप्त इतिहासचेत देखिएन। इतिहाससिद्ध व्यक्ति वा घटनाको चित्र हुनैपर्छ वा देखाउनै पर्छ भन्ने आवश्यकता पनि छैन। उपलब्ध नभए अनुपलब्धताको सूचना दिनु ऐतिहासिकचेत हो भने काल्पनिक कुरा देखाउनु बेइमानी। काल्पनिक चित्रहरू नै स्थापित भइसक्ने अवस्थामा कथंकदाचित ऐतिहासिक मुहार चित्रहरू प्राप्त भए अप्ठ्यारो स्थिति सिर्जना हुनेछ। सिंहदरबार अगाडिको पृथ्वीनारायण शाहको सालिक पनि काल्पनिक नै हो तर ऐतिहासिक आधार लिन सकिने मूर्ति फेला परेपछि यस मूर्तिलाई के गर्ने भन्ने प्रश्नले अप्ठ्यारोमा पारेको अनुभव छ।

गोरखा संग्रहालयमा प्रदर्शित शाह राजाहरूका मुहार चित्रहरूसँगै ऐतिहासिक विवरण दिइएका छन्। यससँगै यी चित्रहरू काल्पनिक हुन् भन्ने सूचना दिन सकिन्थ्यो, तर नदिएर काल्पनिक कुरालाई इतिहासको रूपमा स्थापित गर्न खोजिएको छ।

प्रतिकृया दिनुहोस