काठमाडौँको मतगणना अन्तिम चरणमाः प्रमुखमा एमालेका विद्यासुन्दर र उपप्रमुखमा कांग्रेसकी हरिप्रभाको जित सुनिश्चित
काठमाडौँ महानगरपालिकाको मतगणना अन्तिम चरणमा पुगेको छ ।जम्मा ३२ वडामध्ये हालसम्म ३१ वटाको मतगणना सम्पन्न भइसकेको छ । अब १६ नं वडाको मात्र गणना बाँकी छ ।
प्राप्त पछिल्लो परिणामअनुसार महानगर प्रमुखमा उम्मेदवारी दिएका नेकपा एमालेका विद्यासुन्दर शाक्यले ६२ हजार १२५ मत प्राप्त गरेका छन् । योसँगै शाक्यको जित सुनिश्चित भएको छ ।
त्यसैगरी, नेपाली कांग्रेसका राजुराज जोशीले ४३ हजार ९१० प्राप्त गरेका छन् ।
विवेकशील पार्टीकी रञ्जु दर्शनाले २२ हजार ५३९ मत प्राप्त गरेकी छन् भने साझा पार्टीका किशोर थापाले १७ हजार ८४४ मत प्राप्त गरेका छन् । नेकपा माओवादी केन्द्रका सर्वोत्तम डङ्गोलले ७ हजार ४६९ मत प्राप्त गरेका छन् ।
त्यसैगरी, उपप्रमुखमा कांग्रेसकी हरिप्रभा खड्गीको अग्रतासँगै जित सुनिश्चित छ । उनले हालसम्ममा ५६ हजार ३९६, राप्रपाका राजाराम श्रेष्ठले ३३ हजार ५३८, साझा पार्टीकी निरुपमा यादवले ११ हजार ६४ मत प्राप्त गरेका छन् ।
माओवादी केन्द्रकी सुशीला पौडेलले ९ हजार ८०३ मत प्राप्त गरेकी छन् ।
मतगणना अन्तिम चरणमा रहेकाले आज राति नै अन्तिम परिणाम आइसक्ने काठमाडौँ महानगरपालिकाको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
यसैबीच, महानगरको १४ नं वडामा एमालेको समूह विजयी भएको छ । भर्खरै घोषणा भएको अन्तिम मत परिणामअनुसार अध्यक्षमा शोभा सापकोटाले तीन हजार ८०७ मत प्राप्त गरेकी छन् ।
महिला सदस्यमा रम्मी खड्काले ४ हजार ३१५, दलित सदस्यमा उर्मिला सेन्चुरीले ४ हजार ९ र खुलातर्फ विनोद थापाले ३ हजार ८१६ र वसन्त महर्जनले ३ हजार ६६३ मत प्राप्त गरेका छन् ।
३२ वटा वडामध्ये १८ वटा वडामा एमाले र १३ वटा वडामा कांग्रेस विजयी भएका छन् ।
रासस