एमालेको जीतले सत्तारुढ दलहरु आत्तिएः ओली
एमाले अध्यक्ष केपी ओलीले स्थानीय तहको पहिलो चरणको निर्वाचनमा एमालेको जीतबाट सत्तारुढ दलहरु आत्तिएको दाबी गरेका छन् ।
एमालेको जीतबाट आत्तिएर सत्तारुढ दलहरु राष्ट्रिय जनता पार्टीलाई देखाएर दोस्रो चरणको निर्वाचन मिति सार्ने प्रपञ्चमा लागेको उनले आरोप लगाए ।
पोखर लेखनाथ नगरपालिकाका विजेता मेयर र उपमेयरको सम्मानमा आयोजित समारोहलाई सम्बोधन गर्दै ओलीले पहिलो चरणको चुनावमा जितेर दोस्रो चरणमा प्रभाव पार्ने सत्तारुढ दलहरुको चाहना भए पनि एमालेको जीत पछि उनीहरु अत्तालिएको बताए ।
उनले दोस्रो चरणको चुनावमा झनै ठूलो अन्तरले एमाले पहिलो पार्टी बन्ने दाबी समेत गरेका छन् ।
“तराईमा एमाल कति छ चुनावपछि थाहा हुन्छ,” उनले भने, “एमाले बाहेकका दलसँग जनता वाक्क छन्, कहिले चुनाव होला र एमालेलाई जिताउँ भन्दैछन् ।”
सहमतिको सरकार बनाऔं
ओलीले राष्ट्रिय सहमतिको सरकार गठन गर्नका लागि आफ्नो दलको पनि सहयोग हुने भन्दै एमालेलाई प्रधानमन्त्री नचाहिने बताए ।
“प्रधानमन्त्रीले राजीनामा दिएपछि हामीले राष्ट्रिय सहमतिको सरकार बनाउँ भनेका छौँ, उनले भने, यसो भन्दा हामीलाई प्रधानमन्त्री चाहिन्छ भनेर नसोच्नु ।”
“हामी त केही महिना पछि राजमार्गै राजमार्ग भएर बहुमत जितेर सरकार बनाउने हो,” उनले भने, “यस्तो कान्ला कान्ला हिँड्दैन ।”
संविधान कार्यान्वयन गर्न सहमतिमा देश चलाउनुपर्ने आवश्यकता रहेको उनले औंल्याए ।
दोस्रो चरणको निर्वाचन नजिकिँदै गर्दा प्रधानमन्त्री पुष्पकमल दाहालले दिएको राजिनामा प्रति ओलीले असन्तुष्टी दोहो¥याए । “प्रधानमन्त्री पद दिन चाहनेले र लिन चाहनेले २०/२२ दिन पर्खेको भए हुन्थ्यो नि,” उनले भने ।
उनले पोखराका नवनिर्वाचित जनप्रतिनिधिलाई बधाई दिँदै सबैलाई समेटेर अघि बढ्न सुझाव दिए ।
समारोहमा पोखरा–लेखनाथ महानगरपालिकाका नवनिर्वाचित मेयर र उपमेयरले सबैको साझा भएर काम गर्ने प्रतिवद्धता जनाएका थिए ।
युवराज श्रेष्ठ, पोखरा