झापामा चार महिला प्रमुखका उम्मेदवार
झापामा साना ठूला दल गरी चार जना महिलाले प्रमुख पदको उम्मेदवारी पाएका छन् ।
नेकपा एमालेले कमल नगरपालिकामा मेनुका काफ्लेलाई मेयर र नेपाली कांग्रेसले गौरीगन्ज गाउँपालिकामा फूलमति राजवंशीलाई अध्यक्षमा उम्मेदवार बनाएका छन् । त्यस्तै नयाँ शक्ति पार्टी झापाले मेचीनगर र अर्जुनधारा नगरपालिकामा क्रमशः पनिता ढकाल र देवकला प्रसाईंलाई प्रमुखको उम्मेदवारमा चयन गरेको छ ।
पन्ध्र स्थानीय तह रहेको झापामा कांग्रेसले आठ तह र एमालले नौ तहमा उम्मेदवार चयन गरिसकेका छन् ।
नेकपा माओवादी केन्द्र र राष्ट्रिय प्रजातन्त्र पार्टीले भने जिल्लाभर उपप्रमुखमा मात्र महिलाको उम्मेदवारी तय गरेको छ ।
३१ दल दर्ता रहेको झापामा तीन पार्टीबाट चार जना मात्र उम्मेदवार हुनु सन्तोषजनक नरहेको अखिल नेपाल महिला सङ्घ जिल्ला अध्यक्ष जसमाया गजमेरले बताइन् । रासस