क्रिकेट टोलीका सदस्य जापानमै लुकेपछि छानबिन गर्न समिति गठन
मैत्रीपूर्ण क्रिकेट प्रतियोगितामा सहभागी हुन जापान गएको टोलीका केही सदस्य टोकियो विमानस्थलबाटै जुलाई १५ मा बेपत्ता भएकाबारे पत्ता लगाउन राष्ट्रिय खेलकुद परिषद् ले छानबिन समिति गठन गरेको छ ।
उक्त खेलाडी बेपत्ता प्रकरणबाट अन्तर्राष्ट्रिय जगत्मा नेपालको प्रतिष्ठामा मानमर्दन भएको, खेलाडीको मनोबल गिरेको र आमजनमासमा खेलकुदप्रति नकारात्मक सन्देश प्रवाह भएको भन्दै पूर्व राष्ट्रिय खेलाडी, नेपाल क्रिकेट खेलाडी सङ्घलगायतले छानबिनको माग गरेका थिए ।
राखेपले आफ्ना सदस्य शैलेश कर्माचार्यको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरिएको राखेपका प्रेस सल्लाहकार रोहित दाहालले जानकारी दिए ।
समितिका सदस्यमा राखेपअन्तर्गत सङ्घ संस्था समन्वय शाखाका प्रमुख डेमबहादुर बस्नेत र कानुन शाखाका प्रमुख नारायण अर्याल रहेका छन् । समितिलाई सात बुँदामा केन्द्रित रहेर सत्यतथ्य पत्ता लगाई १५ दिनभित्र प्रतिवेदन बुझाउन समय दिइएको छ ।
समितिलाई उक्त कार्यमा कस्को संलग्नता छ, प्रतियोगतामा सहभागी हुन कुन निकायले खर्च व्यहोरेका हो, अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)को आधिकारिक प्रतियोगिता हो कि होइन, क्रिकेट पदाधिकारी र कर्मचारीको संलग्नता छ कि छैन, राखेपको पूर्व स्वीकृति नलिई किन प्रतियोगितामा भाग लिएको भन्ने विषयमा छानबिन गर्न भनिएको छ ।
त्यस्तै आइसिसीको निर्देशनअनुसार राष्ट्रिय क्रिकेट टोलीका प्रमुख प्रशिक्षक जगत टमाटामार्फत खेलाडीलाई स्पष्टीकरण पनि सोध्न भनिएको प्रेस सल्लाहकार दाहालले बताए ।
रासस