निर्वाचन आयोगले भन्यो, ‘थपिएका स्थानीय तहमा निर्वाचन गराउन सकिंदैन’
निर्वाचन आयोगले सरकारले हालै थप गरेका स्थानीय तहमा निर्वाचन गराउन असम्भव रहेकाले यसअघि नै तोकिएका ४६१ स्थानीय तहमा दोस्रो चरणको निर्वाचन गराउने जनाएको छ ।
आयोगले सरकारको ८ जेठको निर्णय अनुसार तराई मधेशका विभिन्न जिल्लामा गाउँपालिका तथा नगरपालिकाको संख्या थप, हेरफेर र स्तरोन्नती गर्ने गरी भएको निर्णय प्राप्त भए पनि गाउँपालिका तथा नगरपालिकाको वडा संख्या लगायतको विस्तृत विवरण हालसम्म प्राप्त नभएको, विवरण प्राप्त भएपछि मतदान केन्द्रगत विवरण खुलेको मतदाता नामावली तयारी गर्न र त्यस्तो नामावली १५ जेठसम्म गाउँपालिकासम्म पुर्याउन असम्भव हुने जनाएको छ ।
त्यसैगरी मतदाताको परिवर्तित ठेगाना अनुरुप मतदाता परिचयपत्र छपाई गरी सम्बन्धित मतदान केन्द्रमा पुर्याउन नसकिने पनि आयोगले जनाएको छ ।
नयाँ थपिने गाउँपालिका र नगरपालिकाका लागि निर्वाचन अधिकृतको नियुक्ति गरी थपिएका स्थानीय तहमा कार्यालयको व्यवस्था गर्न समेत १५ जेठभित्र नसकिने हुँदा नेपाल राजपत्रमा प्रकाशित निर्वाचन कार्यक्रम अनुसार निर्वाचन हुन बाँकी ४६१ स्थानीय तहमा ३१ जेठमै निर्वाचन सम्पन्न गराउने वातावरण मिलाउन आयोगले सरकारसँग आग्रह गरेको छ ।