प्रधानमन्त्री दाहालद्वारा पदबाट राजीनामा
प्रधानमन्त्री पुष्पकमल दाहालले देशका नाममा विशेष सम्बोधन गर्दै पदबाट राजीनामा दिएको घोषणा गरेका छन् ।
पद छोडदा यस अघिका प्रधानमन्त्रीलाई हुने गरेको छटपटी र आक्रोशको परम्परा तोड्दै पूर्व सहमति अनुसार नैतिकता र इमान्दारीमा अडिएर पद छोडेको उनले बताएका छन् ।
प्रधानमन्त्री दाहालले आफ्नो कार्यकालमा भएका राम्रा कामहरुको फेहरिस्त पेश गर्दै आफूले सफल प्रधानमन्त्रीको हैसियतमा पद छोड्न लागेको दाबी गरे ।
उनले आफू प्रधानमन्त्री बन्दै गर्दा चीनसँगको ओबीओआर सम्झौता, फाष्ट ट्रयाक, हुलाकी राजमार्ग जस्ता आयोजना अब के हुने हुन् भनेर सोधिएको स्मरण गर्दै ती सबै काम आफ्नो कार्यकालमा अगाडि बढाइएको बताए ।
लोडसेडिङको अन्त्य, संविधान कार्यान्वयन, स्थानीय तहको निर्वाचन, पुनःनिर्माणमा तिव्रता, गार्हस्थ उत्पादनमा वृद्धि, मूल्यवृद्धि नियन्त्रण, ठूला आयोजना निर्माणमा तिव्रता जस्ता कामहरु आफ्नो कार्यकालमा गर्न सकेको उनले बताए ।
स्वास्थ्य क्षेत्रमा भएका नीतिगत तथा व्यवस्थापकीय सुधार, विभिन्न कानून ऐनहरुको निर्माण, प्रधानमन्त्री कृषि कार्यक्रम, स्वास्थ्य विमा, वैदेशिक रोजगारमा जानेहरुको विमा लगायतका व्यवस्था आफू नेतृत्वको सरकारले गरेको उनले बताए ।
उनले देशका सबै जसो राजनीतिक दलहरु क्रान्तिका साझेदार भएको बताउँदै अब देशले क्रान्तिको अर्थ र औचित्य खोजेको बताए । सामाजिक लोकतन्त्र र न्यायपूर्ण समाज निर्माणको काम गर्न बाँकी रहेको भन्दै उनले अब सबै मिलेर राजनीतिलाई आर्थिक समृद्धितर्फ केन्द्रित गर्नु पर्ने भन्दै थपे, “आर्थिक क्रान्तिका लागि साझा संकल्प गरौं ।”
सम्बोधन लगत्तै उनले राष्ट्रपति समक्ष राजीनामा पत्र बुझाउने बताएका थिए ।