एक मतले हारेपछि अदालतमा मुद्दा
तनहुँको देवघाट गाउँपालिकामा एक मतको अन्तरले उपाध्यक्ष पदमा पराजित सावित्री न्यौपने दवाडीले पुनः मतगणनाको माग गर्दै उच्च अदालतमा मुद्दा दायर गरेकी छन् ।
निर्वाचन आयोगका अनुसार एमालेको तर्फबाट उपमेयरकी उमेदवार दवाडीले २ हजार ८५९ मत प्राप्त गरेकी छन् भने उपध्यक्षमा कांग्रेसबाट निर्वाचित विमला थापाले २ हजार ८६० मत प्राप्त गरी निर्वाचित भइन् ।
एक मतले मात्रै पराजित भएपछि उनले परिणाम सार्वजनिक भएलगत्तै निर्वाचन अधिकृत समक्ष पुनःमतगणनाको माग गर्दै दिएको निवेदनमा सुनुवाई भएन ।
दवाडीले भनिन्, “पुनः मतगणनाका लागि निर्वाचन अधिकृतलाई निवेदन दिएकोमा उहाँले लिन मान्नुभएन, अदालत जानु भन्नुभयो ।”
उनले निर्वाचन अधिकृत काशीराज गैरे र उपाध्यक्षमा निर्वाचित नेपाली कांग्रेसकी विमला थापाविरुद्ध उच्च अदालत पोखरामा उजुरी हालेकी छन् ।
सोमबार दर्ता उजुरीमा उच्च अदालत पोखराले विपक्षीका नाममा ७ दिने म्याद जारी गरेको छ ।
दुई मतले हार्नेले मुद्दा दिए
यसैगरी लमजुङको बेशीसहर नगरपालिका –११ को वडाध्यक्षमा पराजित सुरेशबाबु पाण्डेले पनि मतगणना गराइपाउँ भनी उच्च अदालतमा निवेदन दिएका छन् ।
कांग्रेसका उम्मेदवार पाण्डे एमालेका अच्युतबाबु बगालेसँग २ मतले हारेका थिए । बगालेले १ हजार १६० मत ल्याउँदा पाण्डेले १ हजार १६२ मत पाएका थिए ।
युवराज श्रेष्ठ, पोखरा