पोखरा महानगरको मतगणना शुरु
६ जेठदेखि स्थगित भएको पोखरा महानगरको मतगणना सुचारु गर्न सबै राजनीतिक दल सहमत भएका छन् ।
निर्वाचन कार्यालयले आज बिहान बोलाएको सर्वदलिय बैठकमा विवादित वडा नं. १७ को मतगणना थाँति राखेर अन्य वडाको मतगणना शुरु गर्ने सहमति जनाएका हुन् ।
मतगणनाका क्रममा पोखरा लेखनाथ महानगरपालिका वडा नं. १७ मा स्वस्तिक छाप केही ठुलो देखिएको भन्दै फर्जी मतपत्रको आरोपमा नेपाली कांग्रेस र माओवादीले मतगणना बहिस्कार गरेका थिए । ३३ वटा वडा रहेको पोखरा–लेखनाथ महानगरको १४ वटा वडाको अन्तिम परिणाम सार्वजनिक भइसकको छ । अब वडा नं. १७ बाहेक अन्य वडाको गणना सुचारु हुनेछ । वडा नं. १७ को मतदान केन्द्रमा बनाएको मुचुल्का हेरेर सहमति खोजिने कास्कीका मुख्य निर्वाचन अधिकृत नागेन्द्रलाल कर्णले जानकारी दिए ।
निर्वाचन आयोगले निर्वाचन अधिकृतका हस्ताक्षर मिलेका सबै मतपत्र सदर गरी गणना जारी राख्न ७ जेठमा निर्देशन दिएको थियो ।
युवराज श्रेष्ठ, पोखरा