दोस्रो चरणको निर्वाचनमा सबै मधेश केन्द्रित दलहरु सहभागी हुनेछन्: उपेन्द्र यादव
संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले संविधान संशोधन नभएपनि दोस्रो चरणको चुनावमा सहभागी हुने बताएका छन् ।
आज, ७ जेठमा जनकपुरमा आयोजित पत्रकार सम्मेलनमा फोरम अध्यक्ष यादवले १६ वैशाखमा संविधान संशोधनका लागि आवश्यक सांसद संख्या पुर्याउनै लागेका बेला दरबारिया शक्तिको चलखेलले त्यसो हुन नसकेको दाबी गरे । उनले भने, “अहिलेसम्म प्राप्त उपलब्धीको रक्षाको लागि चुनावमा सहभागी हुने निर्णय गरेका छौं ।”
१७ वैशाखमा संविधान संशोधन प्रस्ताव पारित गर्नेगरी सत्तापक्ष र मधेश केन्द्रित दलले तयारी थाल्दा राप्रपाका १० जना सांसद पार्टी नेतृत्वसित सम्पर्कविहीन हुन पुगेपछि संशोधन हुन नसकेको भन्दै उनले यस्तै चलखेल बढिरहे प्राप्त उपलब्धी समेत गुम्ने भएकोले निर्वाचनमा सहभागी हुनु जरुरी रहेको बताए ।
उनले राजपा नेपाल समेत दोस्रो चरणको निर्वाचनमा सहभागी हुने दाबी गरे । भने, “स्थानीय तहको संख्या वृद्धि गरे राजपा नेपाल पनि चुनावमा सहभागी हुन्छ ।”
मधेश विरोधी शक्तिलाई परास्त गर्न मधेश केन्द्रित दलहरु एकजुट भएर स्थानीय निकायको दोस्रो चरणको चुनावमा साझा उम्मेदवार उठाउन आफू प्रयासरत रहेको भन्दै उनले अहिलेसम्मका छलफलहरु सकारात्मक र उपलब्धीमूलक रहेको बताए ।
स्थानीय तहको पहिलो चरणको निर्वाचनको नतिजाबाट आफूहरु निरुत्साहित नभएको बरु हिमाली जिल्लाहरुमा समेत आफ्नो आधार खडा गर्न सकिएको उनको भनाई छ ।
ईश्वरचन्द्र झा, जनकपुर