सीडीओले लेखापढी व्यवसायीहरुलाई च्याम्बरमा बोलाएर कुटे
धनुषाका प्रमुख जिल्ला अधिकारीले लेखापढी व्यवसायीलाई आफ्नै च्याम्बरमा बोलाई कुटपिट गरेका छन् ।
प्रजिअ दिलीप चापागाईले आफैं र सुरक्षाकर्मी परिचालन गरी आफूहरुलाई कुटपिट गरेको लेखापढी व्यवसायीले बताएका छन् ।
यसबारे प्रतिक्रिया दिंदै प्रजिअ चापागाईले सेवाग्रहीबाट बढी रकम असुल्ने कानून व्यवसायीलाई आफूलाई कारबाही गरेको बताए ।
आज बिहान कार्यालय खुलेलगत्तै प्रमुख जिल्ला अधिकारी चापागाईले जय मण्डल, सुनील यादव, रामनारायण साह सहितका लेखापढी व्यवसायीलाई च्याम्बरमा बोलाएर सेवाग्राहीबाट बढी रकम किन असुलेको भनेर थप्पड हान्दै च्याम्बरबाट बाहिर पठाएको जयकुमार मण्डलले बताए ।
“गाली गलौजबाट कुरा गर्न शुरु गरेका सीडीओले कञ्चटमा थप्पड हाने, प्रहरीले पनि पिटे,” लेखापढी व्यवसायी संघ जनकपुरका अध्यक्ष रामसुन्दरले भने ।
उनले आफूहरुले सेवाग्रहीको काम गरेवापत सरकारले तोकिदिएको भन्दै बढी रकम नलिएको दाबी गरे ।
प्रजिअको थप्पड खाएका व्यवसायीहरुले प्रशासन कार्यालय अगाडि नाराबाजी गर्दै प्रजिअलाई कारबाहीको माग गरेका छन् ।
प्रजिअ चापागाईले भने सेवाग्रहीलाई अनावश्यक दुख दिनेहरुलाई कारबाही गरेको र सेवाग्रहीबाट असुलेको बढी पैसा समेत फिर्ता गराएको बताए ।
थप्पड हान्नुको कारणबारे सोध्दा उनले भने, “कारबाही गरेर सेवाग्रहीको पैसा फिर्ता गराएको हुँ, कुरा त्यती नै हो ।”
ईश्वरचन्द्र झा, जनकपुर